सबैभन्दा ठूलो दल काँग्रेस हुने उपसभापति विश्वप्रकाश शर्माकाे ठाेकुवा
काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आसन्न निर्वाचनबाट आफ्नो पार्टी सबैभन्दा ठूलो दलको रुपमा उदय हुने बताएका छन् ।
सोमबार पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो दाबी गरेका हुन् ।
पार्टी निर्वाचन परिचालन समिति संयोजक समेत रहेका उपसभापति शर्माले दोस्रो ठूलो दलभन्दा फराकिलो अन्तरले आफ्नो पार्टी पहिलो राजनीतिक शक्ति बन्ने ठोकुवा गरे ।
उनले प्रत्यक्ष र समानुपातिक दुवैमा नेपाली काँग्रेस पहिलो शक्ति बन्ने आँकलन पनि आफूहरुले गरेको बताए ।
उपसभापति शर्माले भने,‘नेपाली काँग्रेस पार्टी फागुन २१ को निर्वाचनबाट सबैभन्दा ठूलो दलको प्रत्यक्ष र समानुपातिक दुवैतर्फको आकारबाट सबै भन्दा ठूलो दलको रुपमा आउँदैछ । हामी कुनै पनि दोस्रो दल भन्दा राम्रै आकारका साथ अगाडि हुन्छौँ । बहुमत आउन पनि सक्छ । तर अहिले यति ढुक्कले भन्न सकिन्छ–नेपाली काँग्रेस पार्टी सबैभन्दा ठूलो दलको रुपमा आउँछ । प्रत्यक्षबाट पनि आउँदैछ, समानुपातिकबाट पनि आउँदैछ ।’
उपसभापति शर्माले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउनका लागि योगदान पुर्याउन पनि सबै राजनीतिक दल र संवद्ध सबै पक्षको योगदान आवश्यक रहेको पनि बताए ।
