माैन अवधिमै रास्वपाकी समानुपातिक उम्मेदवार ज्वालाले लेखिन् विवादित स्टाटस
काठमाडौँ। प्रतिनिधिसभा निर्वाचनमा मतदान हुन केही घण्टा मात्र बाँकी छ । अहिले माैन अवधि हाे ।
तर, यहीबेला निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कि समानुपातिक उम्मेदवारसमेत रहेकी केन्द्रीय सदस्य ज्वाला संग्रौलाले सामाजिक सञ्जालमा विवादित स्टाटस लेखेकी छन्।
उनले मतदातालाई मनाेवैज्ञानिक रुपमा दबाब र प्रभाव सिर्जना गर्नेगरि गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका सहिद सुवास बोहराको फोटो फेसबुकमा राख्दै ‘गोली चलाउनेलाई इतिहासले माफ गर्ने छैन’ भन्ने धारणा व्यक्त गरेकी थिइन्।
उक्त स्टाटसमा उनले सुवासकी आमाको फोटो पनि राखेकी छन्, जहाँ आमाले सुवासको फोटो समातेको देखिन्छ।
‘सिंहदरबार त फेरि बन्ला, तर यी आमाको रित्तो कोख कहिल्यै भरिदिन सक्दैनौँ। आफ्नै सत्ता जोगाउन गोलीले मान्छे ढाल्नेहरुलाई इतिहासले कहिल्यै माफ गर्ने छैन,’ फेसबुकमा उनले लेखेकी छन्।
राजनीतिक रूपमा संवेदनशील समयमा यस्तो अभिव्यक्ति मतदाता प्रभावित पार्ने उद्देश्यले सार्वजनिक गरिएको देखिन्छ ।
निर्वाचन आचारसंहिताले मतदान नजिकिँदै जाँदा सहिद, संघर्ष, हिंसा तथा संवेदनशील घटनालाई प्रयोग गरी मतदाताको भावना उद्देलित गर्ने शाब्दिक वा दृश्य सामग्री सार्वजनिक गर्न रोक लगाएको छ। तर, आचारसंहिताकाे धज्जी उडाउँदै ज्वालाले स्टाटस लेखिन्, जसले सामाजिक सञ्जालमा नै चुनावी वातावरण तनावपूर्ण बन्दै गएको देखिन्छ।
निर्वाचन आयोगले यस्ता गतिविधिले मतदाताको स्वतन्त्र निर्णय क्षमतामा प्रत्यक्ष प्रभाव पार्न सक्ने र आवश्यक परे अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ ।

