`

निर्वाचनकाे तयारी पूरा, मतदान गर्न मात्रै बाँकी

Nepal One HD २० फागुन २०८२ १५:१७
निर्वाचन विषेश

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निर्वाचनको पूर्वसन्ध्यामा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभरका सबै मतदान केन्द्रहरूमा आवश्यक निर्वाचन सामग्रीहरू पुगिसकेको जानकारी दिए ।

उनले गत भदौ २३ र २४ गतेको आन्दोलनपछि सिर्जना भएको विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन आयोग पूर्ण रूपमा क्रियाशील रहेको बताए ।

भण्डारीकाअनुसार फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म देशभर मतदान हुनेछ । यसका लागि आवश्यक पर्ने मतपत्र, मतपेटिका लगायतका सम्पूर्ण सामग्रीहरू सम्बन्धित मतदान केन्द्रहरूमा सुरक्षित रूपमा पुर्‍याइसकिएको छ ।

मतदान केन्द्रहरूको निर्माण तथा व्यवस्थापन कार्य सम्पन्न भइसकेको जानकारी दिँदै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले मतदान स्थलहरूलाई लैंगिक तथा अपाङ्गमैत्री बनाइएको र सबै मतदाताको सहज पहुँच सुनिश्चित गरिएको बताए ।

मतदाताले निर्वाध रूपमा आफूलाई मन परेको उम्मेदवार र राजनीतिक दललाई मतदान गर्न पाउने गरी शान्ति सुरक्षाको अत्यन्तै भरपर्दो प्रवन्ध मिलाइएको आयोगले जनाएको छ ।

भण्डारीले निर्वाचनलाई केवल प्रतिनिधि छान्ने वा सरकार गठन गर्ने प्राविधिक प्रक्रियाका रूपमा मात्र नबुझ्न आग्रह गरे ।

उनले भने, ‘संवैधानिक दायित्वअनुसार आयोग स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय निर्वाचनको दायित्व पूरा गर्न क्रियाशील छ । संवत २०८२ साल भदौ २३ र २४ गतेको आन्दोलनपछि विशिष्ट परिस्थितिमा घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा, निर्वाचनमा यही फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म देशभर सम्पन्न हुने मतदानका लागि आवश्यक मतपत्र, मतपेटिका तथा अन्य निर्वाचन सामग्री सबै मतदान केन्द्रमा पुर्‍याइसकिएको छ । मतदान केन्द्रहरूको निर्माण, व्यवस्थापन, पहुँच व्यवस्थापन, लैंगिक, अपाङ्गमैत्री व्यवस्थापन तथा कर्मचारी परिचालन लगायतका सम्पूर्ण कार्यक्रमहरू सम्पन्न भइसकेका छन् । मतदाताले निर्बाध रूपमा आफूलाई मन परेको उम्मेदवार र राजनीतिक दललाई मतदान गर्न पाउने गरी शान्ति सुरक्षाको भरपर्दो प्रवन्ध मिलाइएको छ ।’

निर्वाचनलाई उनले नागरिकले कानुन निर्माण र राज्य सञ्चालनको प्रक्रियामा प्रत्यक्ष रूपमा आफूलाई संलग्न गराउने अवसर भएकाे बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *