`

तीनै तहका सरकारको वित्तीय सूचक एकै ठाउँबाट हेर्न सकिने

Nepal One HD ६ चैत २०८२ २०:४७
प्रमुख खबर

काठमाडौँ। ‘नेपाल फिस्कल ड्यासबोर्ड’मार्फत तीनै तहका सरकारको वित्तीय सूचक हेर्न सकिने भएको छ ।विश्व बैंक नेपालले तयार गरेको उक्त ड्यासबोर्डमार्फत सङ्घ, प्रदेश र स्थानीय गरेर तीनै तहका सरकारको बजेट, राजस्व, खर्च, ऋण र वित्तीय सूचक एकै ठाउँमा हेर्न, विश्लेषण गर्न र डाउनलोड गर्न सकिने भएको हो ।

नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)द्वारा आज आयोजित कार्यक्रममा नेपाल विश्व बैंक समूहले सो विषयमा प्रस्तुतीकरण गरेको थियो । गत महिना सार्वजनिक भइसकेको ड्यासबोर्डबाट मुलुकको तीनै तहका सरकारी आय, खर्च र ऋणसम्बन्धी तथ्याङ्क प्राप्त गर्न सकिने जनाइएको छ ।

यो ड्यासबोर्डमार्फत सङ्घ, प्रदेश र स्थानीय तह प्रत्येकको बजेट, राजस्व स्रोत र खर्च उपलब्ध हुने छ । ती सबै तथ्याङ्कलाई एउटै ‘प्लेटफर्म’मा ल्याएर ‘भिजुअलाइज’ र विश्लेषण गर्न मिल्ने बनाइएको हो । यो ड्यासबोर्ड एकीकृत प्रणालीको अन्तरक्रियात्मक र प्रयोगकर्तामैत्री रहेको बैंकले जनाएको छ ।

ड्यासबोर्डमा सन् २०१८ देखि २०२२ सम्मका ऐतिहासिक तथ्याङ्क समावेश गरिएको छ । नयाँ तथ्याङ्क अद्यावधिक गरिँदै लैजाने बैंकले जनाएको छ । स्रोतका रूपमा बजेट भाषण, महालेखा नियन्त्रकको कार्यालयले प्रकाशन गर्ने एकीकृत वित्तीय विवरण र नेपाल राष्ट्र बैंकलगायत सार्वजनिक निकायका तथ्याङ्क प्रयोग गरिएको छ ।

ड्यासबोर्ड प्रयोग गर्न कुनै अनुमति आवश्यक नपर्ने र जोकोहीले स्वतन्त्र रूपमा प्रयोग गर्न सक्ने बताइएको छ । तर तथ्याङ्क सरकारी स्रोतबाट आएकाले स्रोत उल्लेख गर्नु उपयुक्त हुने जनाइएको छ ।

नाफिजकी अध्यक्ष मेनुका कार्कीले ड्यासबोर्डमा प्राप्त हुने तथ्याङ्क विश्लेषण गर्न सजिलो हुने भएकाले आर्थिक पत्रकारिताका लागि निकै उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।उहाँले प्रयोगकर्ताहरूले नेपाली भाषामा उपलब्ध गराउनुपर्ने अन्य दक्षिण एसियाली देशसँग तुलना गर्ने सुविधा थप्नुपर्ने र नियमित अद्यावधिक गर्न सुझाव दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *