संसदीय यात्रामा ३० वर्ष मुनिका यी २२ जेन-जी सांसद
काठमाडौं। गत भदौ २३ र २४ गते भएको जेन-जी विद्राेहपछि हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित ३० वर्ष मुनिका २२ जना सांसद संसदीय यात्रामा छन्।
जसमध्ये आठ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित भएका हुन् भने १४ जना समानुपातिक निर्वाचन प्रणालीबाट संसद पुगेका छन्।
राजनीतिक विश्लेषकहरु जेन-जी विद्राेहपछि विकसित राजनीतिक परिस्थितिले युवाहरूलाई संसदसम्म पुग्ने बाटो खोलिदिएको विश्लेषण गर्छन् ।
यो नेपालको संसदीय निर्वाचनको पहिलोपल्ट हो, जहाँ ३० वर्षमुनिका २२ जना संघीय संसदमा पुगे।
३० वर्ष मुनिका २२ जना सांसदमध्ये १९ जना राष्ट्रिय स्वतन्त्र पार्टीका छन् भने श्रम संकृतिका दुई र नेपाली कांग्रेसबाट एक जनाले संसद प्रवेशको मौका पाएका छन्।
यी हुन्, प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनेका ३० युवा सांसद :-
(प्रत्यक्षतर्फ-८ जना)
प्रशान्त उप्रेती
मकवानपुर-२ बाट विजयी भएका रास्वपा सांसद प्रशान्त उप्रेती हालको संसदमा सबैभन्दा कान्छा पुरुष सांसद बनेका छन् । उनकाे उमेर २५ वर्ष हाे । उनी ३० हजार ५० मत ल्याएर प्रतिनिधि सभा सदस्य चुनिए ।
केपी खनाल
केपी खनाल कैलाली-२ बाट १९ हजार ५७ मतसहित २६ वर्षकै उमेरमा प्रतिनिधिसभा सदस्य निर्वाचित भए । उनी पनि रास्वपाबाट निर्वाचित भएका हुन्।
मनिष खनाल
रास्वपाकै मनिष खनाल नवलपुर-२ बाट २६ वर्षका उमेरमै ४१ हजार ३४७ मत ल्याएर संसद पुगे ।
सुलभ खरेल
रूपन्देही-२ बाट ५६ हजार ५५० मत प्राप्त गरी विजयी बनेका २८ वर्षीय सुलभ खरेल पनि युवा नेतामध्ये एक हुन्।
बब्लु गुप्ता
२८ वर्षे पूर्वयुवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता सिराहा–१ बाट ४१ हजार ३२२ मत ल्याएर निर्वाचित भए ।
सस्मित पोखरेल
३० हजार ७३७ मत प्राप्त गरी काठमाडौं-५ बाट निर्वाचित सस्मित पोखरेल २९ वर्षका हुन्। भावी सरकारमा उनको मन्त्री हुने चर्चा छ।
निशा डाँगी
रास्वपाकै निशा डाँगी पुनः सांसद बन्न सफल भएकी छन्। यसअघिको संसदमै कान्छी सांसदको रुपमा पहिचान बनाएकी २९ वर्षीया डाँगी झापा-१ बाट ४५ हजार ६८० मत ल्याएर विजयी भइन्।
आरेन राई
खोटाङ-१ बाट १६ हजार ६१२ मत ल्याएर निर्वाचित श्रम संस्कृति पार्टीका २९ वर्षीय आरेन राई पनि ३० वर्ष मुनिका प्रतिनिधि हुन्। प्रत्यक्षतर्फका आठ जना सांसदमध्ये सात जना रास्वपाका छन्। रास्वपाबाहेकका पार्टीहरुबाट ३० वर्ष नपुग्दै प्रत्यक्षतर्फ चुनाव जित्ने उनी एक्ला सांसद हुन्।
(समानुपातिक तर्फ – १४ जना)
अनुस्का श्रेष्ठ
पूर्व मिस नेपालसमेत रहेकी २९ वर्षीया अनुस्का श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट आदिवासी जनजाती क्लष्टरबाट सांसद बनेकी हुन् ।
एलिजा गुरुङ
३० वर्षीया एलिजा गुरुङ पनि समानुपातिक निर्वाचन प्रणालीको आदिवासी जनजाती क्लष्टरअन्तर्गत रास्वपाबाट निर्वाचित भएकी हुन्। गोरखा घर भएकी उनी सन् २०१९ कि मिस जनजाति भएकी थिइन् ।
श्रद्वा कुँवर क्षेत्री
२७ वर्षीया श्रद्वा कुँवर क्षेत्री रास्वपाकै तर्फबाट खस आर्य समूहबाट सांसद निर्वाचित भएकी हुन्। उनी राष्ट्रिय युवा परिषद्ले संचालन गर्ने नमूना युवा संसदबाट चर्चामा आएकी थिइन्। जेन-जी आन्दोलन हुनुअघि एमालेमा रहेकी उनले तत्कालीन सरकारले आन्दोलनमा दमन गरेको भन्दै रास्वपा प्रवेश गरेकी थिइन्।
क्रान्तिशिखा धिताल
रास्वपा केन्द्रीय सदस्यसमेत रहेकी २९ वर्षीया क्रान्तिशिखा धिताल खस-आर्य समूहबाट निर्वाचित भएकी हुन् । रास्वपाभित्र उनको प्रखर वक्ताको रुपमा छुट्टै पहिचान छ।
सृष्टि भट्टराई
२७ वर्षीया सृष्टि भट्टराई पनि खस-आर्य समुह अन्तर्गत रास्वपाबाट निर्वाचित भएकी सांसद हुन्। उनी २०७९ को आमनिर्वाचनमा पनि रास्वपाको समानुपातिक उम्मेदवार बनेकी थिइन्। विभिन्न राजनैतिक तथा सामाजिक कार्यहरुमा सक्रिय भइरहने भट्टराईको घर भने सुनसरी हो।
आकृति अवस्थी
२७ वर्षकै उमेरमा संसदको यात्रा तय गरेकी अर्की सांसद हुन्,- आकृति अवस्थी। उनी पनि रास्वपाबाट खस-आर्य समूहअन्तर्गत सांसदको मनोनयनमा परेकी हुन्। उनी जेन-जी आन्दोलनका घाइते मुकेश अवस्थीकी दिदी समेत हुन्।
सीता बादी
देशले पहिलोपटक बादी समुदायको सांसद पायो। रास्वपाबाट ३० वर्षीया सीता बादी दलित समूहबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइन्।
स्मृति सेन्चुरी
३० वर्ष नकट्दै संसदमा पुग्न सफल अर्की सांसद हुन्,- स्मृति सेन्चुरी। २७ वर्षीया उनको स्थायी घर दोलखा हो। उनी रास्वपाको दलित समूहबाट सांसद चुनिएकी हुन्।
खिमा बिक
खिमा बिकलाई २७ वर्षको उमेरमा दलित क्लष्टरबाट रास्वपाले सांसदको रुपमा चयन गर्यो। यसअघि पेशाले नर्स रहेकी खिमाको स्थायी घर दाङ हो।
करिश्मा कठरिया
करिश्मा कठरिया थारु क्लष्टरबाट रास्वपाबाट सांसद चुनिइन्। रास्वपा सुदूरपश्चिम प्रदेशको सहमहामन्त्री समेत रहेकी उनी अहिले २८ वर्षकी भइन्।
पुरुषोत्तम सुप्रभात यादव
जेन-जी आन्दोलनको चर्चित अनुहारको रुपमा स्थापित भएका पुरुषोत्तम सुप्रभात यादव पनि रास्वपाको समानुपातिक निर्वाचन प्रणालीबाट सांसद निर्वाचित भएका हुन्। उनी अहिले २७ वर्षका भए।
अंकिता ठाकुर
समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत महिला मधेशी क्लष्टरबाट सांसद निर्वाचित भएकी हुन्- अंकिता ठाकुर। पेशाले डक्टर उनी अहिले ३० वर्षकी भइन्। उनलाई पनि रास्वपाले समानुपातिक सांसदका रुपमा मनोनित गरेको हो।
गीता गुरुङ
३० वर्ष मुनिको सांसदको रुपमा नेपाली कांग्रेसबाट मनोनित हुन सफल एक्ली सांसद हुन्,- गीता गुरुङ । ३० वर्षीया उनलाई कांग्रेसले आदिवासी जनजाती क्लष्टरबाट मनोनित गरेको हो। लामो समयदेखि जलवायु परिवर्तन र ब्रेनड्रेनको मुद्दा उठाउँदै आएकी उनको स्थायी घर भने सोलुखुम्बु हो।
रुवी कुमारी
रुवी कुमारी श्रम संस्कृति पार्टीको तर्फबाट सांसद मनोनित भएकी हुन्। मधेसी क्लष्टरबाट सांसद बन्न सफल रुवी कुमारी अहिले २५ वर्षकी भइन्।
