साइबर बुलिङकाे सिकार भएकी अमिसा साइबर ब्युराेमा : भन्छिन्, ‘म लड्छु'(भिडियाे)
काठमाडौं। गत शनिबार बिहानै एमाले अध्यक्ष केपी ओली भक्तपुर गुन्डुबाट पक्राउ परे। उनलाई भदौ २३ र २४ गते भएको जेनजी विद्रोहका घटना जाँचबुझका लागि बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगले कारबाही सिफारिस गरेपछि सरकारले पक्राउ गर्याे । ओली पक्राउ परेपछि एमाले बिहानैदेखि त्यसको प्रतिवादमा उत्रियो ।
पार्टी अध्यक्ष पक्राउविरुद्धको प्रदर्शनको अग्रपङ्क्ति मै थिइन्- १९ वर्षीया अमिषा पराजुली।
सूर्यविनायक नगरपालिका-७, गुन्डु घर भएकी अमिषा यसअघि पनि विभिन्न आन्दोलनमा सहभागी भएको बताउँछिन्। आफ्ना अध्यक्षलाई गैरकानुनी र प्रतिशोधपूर्ण भावनाले पक्राउ गरिएको भन्दै त्यो दिन उनी एकाबिहानै पार्टी केन्द्रीय कार्यालय च्यासलमा उपस्थित भएकी थिइन्।
शनिबार बिहान ९ बजे सुरु भएको एमाले सचिवालय बैठकले अध्यक्ष ओलीको पक्राउविरुद्ध माइतीघरमा प्रदर्शन गर्ने निर्णय गर्यो। एमालेका जनवर्गीय संगठनहरूले दिउँसो ३ बजे माइतीघरबाट प्रदर्शन सुरु गरे। उक्त प्रदर्शनको अग्रपङ्क्तिमै थिइन्,-अमिसा।
जेनजी आन्दोलनदेखि नेकपा एमालेका चुनावी कार्यक्रम र एमालेका जनवर्गीय संगठनमार्फत विभिन्न राजनीतिक कार्यक्रममा सहभागी हुँदै आएको अनुभव अमिषासँग छ। तर गत शनिबारको प्रदर्शन उनको लागि फरक खालको रह्यो। शनिबारको प्रदर्शनले उनी ठूलो साइबर बुलिङमा परिन्।
‘शनिबारको बिहान पक्राउ पुर्जी कसरी जारी भयो? शुक्रबार जारी भएको भए शुक्रबार किन गइएन? यो सबै कुराको जवाफ दिनुपर्यो। भोलि केपी शर्मा ओली कोर्टमा जाँदा गृह मन्त्रालय आफ्नो छ भन्दैमा उहाँहरूले जे पनि गर्न सक्नुहुँदो रहेछ नि त। म भन्न चाहन्छु, यो सरकारमाथि निन्दा छैन, आलोचना छैन। जनादेशको पालना गरेर जनताले जसलाई मत दिनुभएको थियो, त्यसलाई मानेका छौँ। तर कोही पनि कानुनमाथि नाइके बन्न खोज्यो भने खबरदार! त्यो मान्छेलाई एमालेको जनसागरले छाड्ने छैन,’ अमिसाले प्रदर्शनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्ने क्रममा भनेकी थिइन्।
उनी भन्छिन्, यसमा उनको कुनै पनि किसिमको राजनीतिक स्वार्थ छैन। राजनीतिक आस्थाका आधारमा र पार्टी अध्यक्षको गैरकानुनी पक्राउका विरुद्ध आफू सडकमा आएको उनी बताउँछिन्।
दिउँसो प्रदर्शन गरेर साँझ घर पुग्ने बेलासम्म माथिको अभिव्यक्ति समावेश गरिएको उनको अभिव्यक्ति सामाजिक सञ्जालका प्लेटफर्महरू फेसबुक, टिकटक र इन्स्टाग्राममा जताततै छरपस्ट भइसकेको थियो। उनका भिडियोहरू सामाजिक सञ्जालमा अनपेक्षित रूपमा ‘भाइरल’ बनिसकेका थिए।
अमिषा भन्छिन्- ‘पछिल्लो बिहानसम्म पनि मलाई केही थाहा थिएन। तर सामाजिक सञ्जालका सबै प्लेटफर्मतिर मेन्सन गर्न थालियो र ट्याग गर्न थालियो, बल्ल थाहा पाएँ।’ पछिल्लो दिन जताततै आफ्नै भिडियो मात्रै देखेको उनी बताउँछिन्।
आइतबारसम्म १०० भन्दा बढी चर्चित फेसबुक पेज तथा युजरहरूले उनको भिडियो पोस्ट गरेका रहेछन्। तर बिडम्बना, भाइरल बनेको अमिसाको भिडियोको कमेन्टमा देखिन्थ्यो- बलात्कार, सामूहिक बलात्कार र यौनिकरणलाई मद्दत गर्ने अपाच्य कमेन्टहरू। उनका भिडियोहरूलाई केही सामाजिक सञ्जाल (फेसबुक, टिकटक र इन्स्टाग्राम) मा दुरुपयोग गर्ने ढंगले पनि प्रस्तुत गरिएको छ, जसले उनीमाथिको साइबर बुलिङ र आक्रमणलाई झन् प्रश्रय दिन मद्दत गर्यो।
‘कमेन्ट मात्रै नभई व्यक्तिगत रूपमा इनबक्समै आएर धम्की दिने र आक्रमण गर्नेको संख्या पनि ठूलो छ,’ अमिसा भन्छिन्। अहिले सामाजिक सञ्जालका विभिन्न प्लेटफर्महरूमा उनका नामका सयौँ फेक आइडीहरू छन्, जसमार्फत पनि उनीमाथि साइबर बुलिङ भइरहेको छ।
सामान्य रूपमा आम तवरले हेर्न नसकिने कमेन्टहरूको वर्षा भइरहेको छ-अमिसामाथि। अझ आक्रमण भइरहेको छ। उनी आफ्नो राजनीतिक आस्था सञ्चारमाध्यममा राखेकै कारण अराजकता र आक्रमणको सिकार बनिन्।
अमिसा आफूमाथि भएको आक्रमणको उजुरी लिएर आज साइबर ब्युरो पुगेकी छन्। ‘व्यक्तिगत रूपमा गालीगलौजमा उत्रिने, फोन गरेर धम्की दिने, कमेन्टमा बलात्कारको धम्की दिने र सामाजिक सञ्जालमा आफ्नो नाम दुरुपयोग गर्नेहरूविरुद्ध उजुरी दिन आएकी हुँ,’ साइबर ब्युरोमा उजुरी दिने क्रममा उनले भनिन्।
आफूमाथिको आक्रमणसँग डराएर नबस्ने अमिसाको धारणा छ। ‘म जस्ता अरु थुप्रै दिदीबहिनीमाथि आक्रमण भइरहेको छ। तर म त्यस्तो व्यक्ति होइन, जो चुप लागेर बसोस्,’ उनले भनिन्।
उजुरी दिइसकेपछि सञ्चारकर्मीसँग कुरा गर्ने क्रममा अमिषाले भनिन्- ‘अब चुप लागेर बस्ने अवस्था छैन, त्यसैले म साइबर क्षेत्रमा आवाज उठाइरहेकी छु। सामाजिक सञ्जालमा अत्यधिक बुलिङ भइरहेको छ। पहिले यस्तो समस्या भोग्नुपरेको थिएन, तर अहिले सामाजिक सञ्जालमा अत्यधिक ट्रोल र दुर्व्यवहार भइरहेको छ। यसले गर्दा म आफूलाई कुन समाजमा बाँचिरहेको छु भन्ने प्रश्न गर्न बाध्य भएकी छु।’
उजुरी दिएपछि के भनिन् अमिषाले ?
‘म त्यस्तो व्यक्ति होइन, जसले आफ्ना दिदीबहिनीहरूको लागि आवाज नउठाओस्। अमिषा पराजुलीको कमेन्ट बक्समा भइरहेको गलत प्रवृत्तिविरुद्ध आवाज उठाउन मैले यो गरिरहेकी हुँ। मेरो दृष्टिकोणमा हाम्रो समाज निकै खराब दिशातर्फ गएको देखिन्छ। मेरो पनि परिवार छ, दिदीबहिनी छन् र आफन्त छन्, त्यसैले यस्तो अवस्था व्यवस्थापन गर्न अलि कठिन हुन्छ।
निर्मला पन्त र इनिसा विकजस्ता दिदीबहिनीका लागि आवाज उठाउनेहरूमाथि पनि अमिषा पराजुलीको कमेन्ट बक्समा ‘बलात्कार गरिनुपर्छ’ भन्ने जस्ता घृणित टिप्पणीहरू आउने गरेका छन्। यसले हाम्रो समाज कति विकृत हुँदै गएको छ भन्ने देखाउँछ।
यस्ता घटनाहरू सम्झँदा मलाई मानसिक तनाव र चिन्ता हुन्छ। तर मेरो परिवार मेरो साथमा छ। कहिलेकाहीँ यसलाई व्यवस्थापन गर्न गाह्रो भए पनि म सकारात्मक रूपमा सामना गर्ने प्रयास गरिरहेकी छु।
प्रधानमन्त्रीज्यूको पनि छोरी हुनुहुन्छ। म आशा गर्छु कि प्रधानमन्त्रीले बुझ्नुहुनेछ। प्रधानमन्त्रीबाट कति अपेक्षा छ भन्नेमा अहिले कुनै टिप्पणी गर्न चाहन्नँ। बलात्कारजस्तो जघन्य अपराधविरुद्ध कडा कदम चाल्न आवश्यक छ, नत्र सन्तुष्टि मिल्दैन। कसैलाई बलात्कार गर्छु भनेर टिप्पणी गर्नु आफैंमा अपराध हो। निर्मला पन्त र इनिसा विकका लागि समान न्याय हुनुपर्छ।
कानुनी रूपमा दोषीलाई सजाय दिनैपर्छ। त्यस्ता अपराधीलाई कुनै हालतमा उन्मुक्ति दिनु हुँदैन। उनीहरूलाई कानुनअनुसार कारबाहीको दायरामा ल्याउनुपर्छ र कडा सजाय दिनुपर्छ।
हामीले साइबर ब्युरोमा उजुरी दिएका छौं। अभिव्यक्ति स्वतन्त्रताको नाममा अरूको अधिकार मिच्ने अधिकार कसैलाई छैन। स्वतन्त्रता भनेको जिम्मेवारीसहितको कुरा हो।
लोकतन्त्रले दिएको अधिकार प्रयोग गरेर यसरी आवाज उठाउन सकिन्छ भन्ने कुरा मेरो लागि नयाँ अनुभव हो। कसैले मेरो भिडियो दुरुपयोग गरेर गलत रूपमा प्रस्तुत गरेको छ भने त्यसलाई कानुनी रूपमा कारबाही गर्नुपर्छ। यसरी पीडित बनाउनेलाई सजाय हुनैपर्छ। साइबर ब्युरोले यस विषयमा एक जनालाई पक्राउ पनि गरिसकेको छ र थप प्रक्रिया अघि बढिरहेको छ।
प्रहरीकाे हालसम्म खास प्रतिक्रिया आएको छैन, तर हामी त्यसको फलोअप गरिरहेका छौं। परिवारले पूर्ण साथ दिएको छ। मैले कुनै गलत काम नगरेको उनीहरूलाई थाहा छ, त्यसैले उनीहरू मेरो साथमा छन्।
सरकारले महिलाविरुद्ध हुने यस्ता अभिव्यक्तिलाई सहनु हुँदैन। यस्ता गतिविधिले समाजमा नकारात्मक असर पार्छ। जबसम्म पितृसत्तात्मक सोच परिवर्तन हुँदैन, तबसम्म महिलाहरू सुरक्षित र सफल हुन सक्दैनन्। यो केवल सरकारको मात्र जिम्मेवारी होइन, समाजका हरेक व्यक्ति- महिला र पुरुष सबैले सोच बदल्न आवश्यक छ।
धेरै महिलाहरू दैनिक रूपमा यस्ता समस्याबाट गुज्रिरहेका छन्। सामाजिक सञ्जालमा भिडियोहरूलाई यौनिक रूपमा प्रस्तुत गर्ने, दुरुपयोग गर्ने प्रवृत्ति बढिरहेको छ। त्यसैले महिलामाथि हुने डिजिटल दुव्र्यवहारविरुद्ध कडा साइबर कानुन आवश्यक छ। यदि सामाजिक सञ्जालमा हुने दुर्व्यवहार नियन्त्रण गर्न कानुनी व्यवस्था हुँदैन भने त्यस्तो प्लेटफर्मको कुनै अर्थ रहँदैन।
अन्त्यमा, कसैलाई बलात्कार गर्छु भन्ने सोच राखेर टिप्पणी गर्नु पनि अपराध हो। निर्मला पन्त र इनिसा विकजस्ता पीडितका लागि न्याय सुनिश्चित हुनुपर्छ। दोषीहरूलाई कडा सजाय दिनुपर्छ। जबसम्म यस्ता अपराधीलाई कडा कारबाही हुँदैन, तबसम्म महिलाहरू सुरक्षित हुन सक्दैनन्।
प्रधानमन्त्रीबारे मेरो कुनै टिप्पणी छैन। तर सम्पूर्ण मन्त्रिपरिषद्, विशेषगरी कानुन मन्त्री सोविता गौतमले यस विषयलाई गम्भीर रूपमा लिनुहुनेछ भन्ने अपेक्षा छ। प्रधानमन्त्रीले पनि यसलाई बुझ्नुहुनेछ भन्ने आशा राखेको छु।’
भिडियाे-
