दुई अमेरिकी लडाकु विमान खसालेको इरानको दाबी,पाइलट अझै बेपत्ता
एजेन्सी। इरानले दुई वटा अमेरिकी लडाकु विमान खसाएको दाबी गरेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शुक्रबार इरानले दुई सिटे एफ-१५ई स्ट्राइक इगल आफ्नो भूभागभित्र खसाएको जनाएको हो।
घटनामा एक चालकलाई उद्धार गरिएको बताइएको छ भने अर्का चालक अझै बेपत्ता रहेका छन्। एसोसिएटेड प्रेस का अनुसार बेपत्ता पाइलटको अवस्था अज्ञात रहेको भन्दै अमेरिकी अधिकारीहरूले संसदअन्तर्गतको सशस्त्र सेवा समितिलाई जानकारी दिएका छन्।
यसैबीच, रोयटर्स ले इरानले पहिलोपटक एफ-१५ विमान खसाएको दाबी सार्वजनिक गरेको जनाएको छ। इरानले सोही दिन अर्को ए–१० वार्थहग लडाकु विमान कुवेत क्षेत्रमा खसाएको दाबी समेत गरेको छ। उक्त विमानका पाइलटले भने प्यारासुटमार्फत ज्यान जोगाएको बताइएको छ।
यद्यपि, एक अमेरिकी अधिकारीले यी घटनामा इरानी आक्रमण नै कारण हो भन्ने पुष्टि नभएको बताएका छन्।
बेपत्ता पाइलटको खोजीका लागि यूएच-६० ब्ल्याक हक हेलिकप्टर परिचालन गरिएको थियो। तर ती हेलिकप्टरमाथि समेत आक्रमणको जोखिम देखिएपछि फर्काइएको जनाइएको छ।
इस्लामिक रिभोलुसनरी गार्ड कोर्स (आईआरजिसी) ले पनि घटनास्थल आसपास खोजी अभियान तीव्र बनाएको छ र बेपत्ता पाइलटलाई फेला पार्नेलाई पुरस्कार दिने घोषणा गरेको छ।
यस विषयमा डोनाल्ड ट्रम्प ले प्रत्यक्ष प्रतिक्रिया दिन अस्वीकार गरेका छन्। तर उनी ह्वाइट हाउसबाट उद्धार कार्यको नियमित जानकारी लिइरहेको बताइएको छ।
यसअघि पनि इरानले एफ-३५ लाइटनिङ दुई लडाकु विमान खसाएको दाबी गरेको थियो। तर उक्त दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन। अमेरिकी पक्षले भने एफ-३५ जेटले आपतकालीन अवतरण गरेको र पाइलट सुरक्षित रहेको जनाएको थियो।
एफ-३५ ‘स्टेल्थ’ प्रविधियुक्त अत्याधुनिक लडाकु विमान हो, जसलाई विश्वकै शक्तिशालीमध्ये एक मानिन्छ। यसको मूल्य करिब १० करोड डलर रहेको अनुमान छ।
फेब्रुअरी अन्त्यदेखि तीव्र बनेको द्वन्द्वमा हजारौं मानिसले ज्यान गुमाइसकेका छन्। एपीका अनुसार इरानमा मात्रै १,९०० भन्दा बढी मानिस मारिएका छन्। खाडी क्षेत्र, वेस्ट बैंक र इजरायलमा पनि दर्जनौंको मृत्यु भएको छ। रोयटर्सका अनुसार हालसम्म १३ अमेरिकी सैनिक मारिएका छन् र ३०० भन्दा बढी घाइते भएका छन्। भने,लेबननमा १० लाखभन्दा बढी मानिस विस्थापित भएका छन्।
विभिन्न अन्तराष्ट्रिय क्षेत्रहरूमा मानवीय क्षति बढ्दै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
