हावाहुरीको जोखिम : रौतहट प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह
रौतहट । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई उद्धृत गर्दै जिल्ला प्रशासन कार्यालय रौतहटले सर्वसाधारणमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।प्रशासनले आज (शनिबार) सामाजिक सञ्जालमार्फत एक सूचना जारी गरी तराईका भू–भागहरूमा अपराह्नपछि हावाहुरी चल्ने सम्भावना रहेको जनाएको हो।
विशेषगरी रातिको समयमा मधेश प्रदेशका रौतहट, बारा, सर्लाही र महोत्तरी तथा लुम्बिनी प्रदेशका बाँके, बर्दिया र दाङ आसपासका क्षेत्रमा ४० देखि ५० किलोमिटर प्रतिघण्टाको रफ्तारमा तीव्र हावाहुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ ।
तीव्र गतिको हावाहुरीका कारण रुखहरू ढल्ने, कमजोर संरचना तथा घरको छाना उडाउने, र विद्युत् एवं सञ्चार सेवा अवरुद्ध हुन सक्ने जोखिम रहेको प्रशासनले उल्लेख गरेको छ । सम्भावित क्षतिबाट बच्न र सुरक्षित रहनका लागि आवश्यक सावधानी अपनाउन प्रशासनले सम्पूर्ण जिल्लाबासीलाई आग्रह गरेको छ ।
