`

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

Nepal One HD २३ चैत २०८२ ८:१३
जीवनशैली/स्वास्थ्य

चितवन। चितवन उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ रोगको सङ्क्रमण भएको पाइएको छ ।साउनयता अस्पतालमा आएका बिरामीमध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा यस रोगको सङ्क्रमण देखिएको हो ।जनस्वास्थ्य कार्यालयका क्षयकुष्ठ अधिकृत जयराम दुवाडीका अनुसार भरतपुर महानगरपालिकाका १३ जनामा कुष्ठ रोग देखिएको हो ।

यस्तै कालिका नगरपालिकामा चार र माडी नगरपालिकामा एक जनामा यो रोगको सङ्क्रमण देखिएको हो । यसमध्ये १० जना पुरुष र आठ जना महिला छन् ।गत आर्थिक वर्षमा ४३ जनामा यो रोगको सङ्क्रमण देखिएको थियो । यसमध्ये २६ पुरुष, १६ महिला र एक जना १४ वर्षमुनिका थिए ।

क्षयकुष्ठ अधिकृत दुवाडीका अनुसार कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रोब्याक्टेरियम लेपे्र नामक सुक्ष्म किटाणुबाट लाग्ने सरुवा रोग हो । शरीरको कुनै भागमा छुँदा थाहा नहुने फुस्रो वा हल्का रातो दाग देखापर्नु सुरूको चिह्न भएको उहाँले बताउनुभयो ।

अनुहार र कानका लोतीमा गिर्खाहरू देखिनु, छाला चम्किलो र बाक्लो हुनु तथा आँखीभौँ झरेर जानु कुष्ठरोगका चिह्न हुने र अन्त्यमा अपाङ्गता हुनसक्ने उहाँले बताउनुभयो ।स्नायुमा असर पर्न जाँदा हातखुट्टा लगातार झमझम गर्नु, स्नायु सुन्निनु, दुख्नु, हातखुट्टा छुँदा थाहा नहुनु, मांसपेशी कमजोर हुनु आदि लक्षण भेटिएमा कुष्ठरोग हो कि भनी शङ्का गर्न सकिने उहाँले बताउनुभयो ।

कुष्ठरोगका चिह्न र लक्षणका आधारमा बढी किटाणु भएको अर्थात् (एमबी) कुष्ठरोग, कम किटाणु भएको अर्थात् (पीबी) कुष्ठरोग हुने गरेको उहाँले जानकारी दिनुभयो ।यस रोगको उपचार बढी किटाणु भएका कुष्ठरोग बिरामीले १२ महिना र कम किटाणु भएका कुष्ठरोग बिरामीले छ महिना नियमित औषधि सेवन गर्नुपर्ने उहाँले बताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *