`

लक्ष्य हासिल गर्न सक्ने गरी मनसुन प्रतिकार्य राष्ट्रिय कार्ययोजना बनाउनुपर्ने

Nepal One HD २३ चैत २०८२ २१:४८
प्रमुख खबर

काठमाडौँ। मनुसन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना निर्दिष्ट लक्ष्य हासिल हुने गरी ल्याउनुपर्नेमा जोड दिइएको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज भएको मनुसन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३ तर्जुमाका लागि गठित कार्यदलको बैठकमा सहभागीहरूले यस्तो सुझाव दिनुभएको हो ।

त्यस क्रममा आगामी मनसुनका लागि तयार गरिने कार्ययोजनामा समावेश गर्नुपर्ने विषयवस्तु, कार्ययोजनाको स्वरुप एवं गत वर्षको कार्ययोजना कार्यान्वयनका सिकाइ एवं असल अभ्यासबारे छलफल भएको थियो ।
छलफलमा सहभागीहरूले कार्ययोजना कार्यान्वयन योग्य र निर्दिष्ट गरिएका लक्ष्य हासिल गर्न सक्ने हुनुपर्नेमा जोड दिनुभएको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो ।यसैगरी सबै सरोकार भएका निकायले विद्यमान जनशक्तिको अवस्था, पूर्वतयारी, प्रतिकार्य एवं सुरुआती राहतका लागि आवश्यक मौज्दातको स्थिति एवं सम्पादन गर्ने क्रियाकलापबारे यथाशीघ्र विवरण उपलब्ध गराउने समझदारी बनेको छ ।

प्राधिकरणका कार्यकारी प्रमुख ई दिनेशप्रसाद भट्टको अध्यक्षतामा भएको छलफलमा विषयगत क्षेत्र (क्लस्टर) का सरकारी निकाय तथा सहयोगी निकाय, सम्बन्धित विभागहरू, राष्ट्रसङ्घीय निकाय, विपद्का क्षेत्रमा क्रियाशील साझेदार संस्था एवं विज्ञहरूको सहभागिता थियो ।

यसअघि गत हप्ता प्राधिकरणका सहसचिव रोशनीकुमारी श्रेष्ठको संयोजकत्वमा कार्ययोजना तयार गर्न २१ सदस्यीय कार्यदल गठन भएको थियो ।गृहमन्त्री सुधन गुरुङले मनसुन आउनुअगावै प्रतिकार्य राष्ट्रिय योजना निर्माण गर्न निर्देशन दिनुभएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *