होचा पुड्का संघको सहकार्यमा नाटक ‘उत्कर्ष’
काठमाडौं। सामाजिक सन्देशमूलक नाटक ‘उत्सर्ग’ काठमाडौंका विभिन्न स्थानमा मञ्चन भइरहेको छ। नेपाल होचा पुड्का संघले स्थानीय निकायको सहकार्यमा निर्माण गरेको यस नाटकले उचाइ कम भएका महिलाहरू आमा बन्न सक्छन् वा सक्दैनन् भन्ने विषयलाई उठान गरेको हो ।
उक्त नाटकमार्फत प्रजनन स्वास्थ्य, परिवार नियोजन तथा महिला अधिकारसम्बन्धी विषयमा जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको संघले जनाएको छ। समाजमा होचा पुड्का महिलाको मातृत्व क्षमताबारे रहेका भ्रम र पूर्वाग्रह हटाउन नाटकले सशक्त सन्देश दिने अपेक्षा गरिएको छ।
समाजमा विद्यमान भ्रम र डरविरुद्ध सचेतना फैलाउने उद्देश्यले नाटक तयार पारिएको हो।
नाटक ‘उत्सर्ग’ मा निश्चल श्रेष्ठ, अनिता थापा, सरु दाहाल, राजेन्द्र गिरि, रिया घिमिरे, सुर्या खान, लालुमाया पाख्रीन र निशल दुलाललगायत कलाकारको अभिनय रहेको छ। नाटक राजु खतिवडाले लेखेका हुन् भने दुई दशकदेखि रंगकर्ममा सक्रिय जेबी डिसीले निर्देशन गरेका छन्।
काठमाडौंका विभिन्न स्थानमा मञ्चन सम्पन्न भएपछि नाटक पोखरा र हेटौँडामा पनि प्रदर्शन गरिने आयोजकले जनाएको छ।
