`

प्रधानमन्त्री शाहले श्रममन्त्री साहलाई किन गरे बर्खास्त ?

Nepal One HD २६ चैत २०८२ १६:००
प्रमुख खबर

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक कुमार साहलाई सरकारले बर्खास्त गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य बीमा बोर्डको सदस्यमा आफ्नी श्रीमतीलाई नियुक्त गरेको विषयमा विवादमा तानिएपछि उनलाई हटाएको हो । 

याे निर्णयपछि रास्वपाले श्रममन्त्री साहलाइ फिर्ता बाेलाउने निर्णय गरेकाे थियाे।

पार्टी सभापति रवि लामिछानेले मन्त्री साहले पदीय मर्यादाको दुरुपयोग गरेको भन्दै फिर्ता बोलाउन प्रधानमन्त्री शाहलाई पत्र पठाएका थिए।

स्रोतका अनुसार उक्त निर्णयप्रति प्रधानमन्त्री बालेन्द्र शाह पनि निकै असन्तुष्ट थिए । नातावाद र कृपावादको विरोध गर्दै सुशासनको नारासहित गठन भएको सरकारका लागि मन्त्री साहको कदम प्रतिकूल भएको ठानिएको छ।

विभिन्न विवादमा मुछिँदै आएका साहको विगत पनि विवादित रहेको बताइन्छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदलाई मन्त्री बनाउँदा आवश्यक परे जुनसुकै बेला फिर्ता बोलाउन सक्ने बताउँदै आएको थियो ।

मन्त्री साहमाथि यसअघि ठगीको आरोपसमेत लागेको थियो। एमबीबीएस परीक्षा पास गराइदिने भन्दै ठगी गरेको अभियोगमा तत्कालीन वर्ल्ड वाइड कन्सल्टेन्सीका सञ्चालक शाहलाई प्रहरीले २०७३ असोज १६ गते पक्राउ गरेको थियो।

तर, सो मुद्दामा उनले पछि सफाइ पाएको देखिन्छ। २०७३ कात्तिक ३ गते जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँ ले काठमाडौँ जिल्ला अदालत मा ठगी कसुरमा मुद्दा दर्ता गरेको थियो।

पछि २०७३ मंसिर १० गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कृष्णकमल अधिकारी को इजलासले दाबी नपुग्ने ठहर गर्दै साहलाई सफाइ दिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *