दामोदर ‘किशोर’को अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ बजारमा
काठमाडौं। प्रसिद्ध लेखक एवं कवि दामोदर पुडासैनी ‘किशोर’ द्वारा लिखित अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ बजारमा आएको छ।
यो कृति मृत्युविरुद्धको संघर्ष र जीवनप्रतिको आशाको गहिरो अभिव्यक्ति हो, जसलाई रत्न पुस्तक भण्डार ले प्रकाशनमा ल्याएको हो।
नेजोफेरेन्जियल कार्सिनोमा (क्यान्सर) को गम्भीर आक्रमणसँग जुध्दै गर्दा डा. पुडासैनीले रेडियोथेरापी, किमोथेरापी लगायतका उपचार सहनुपरेको थियो । उपचारका क्रममा शारीरिक रूपमा अत्यन्त कमजोर अवस्थामा पुगे पनि उहाँले आत्मबल र वैज्ञानिक प्रगतिप्रतिको विश्वासलाई सम्हाल्दै मृत्यु विरुद्ध संघर्ष गर्नुभयो । सोही कठिन समयका अनुभूति र विचारलाई उहाँले ‘कालो आँधी’ शीर्षकमा कृतिका रूपमा प्रस्तुत गर्नुभएको हो ।
कृतिको भूमिका प्रसिद्ध समालोचक एवं कवि नेत्र एटमले लेखेका छन्। उनका अनुसार, ‘कालो आँधी सुनाउन होइन, अनुभूत गराउन रचिएको कृति हो,’ जसले पीडा, छटपटी र अर्धबेहोसी अवस्थाको गहिरो मनोअभिव्यक्ति प्रस्तुत गर्छ।
‘कालो आँधी’ मा लेखकले क्यान्सरको निकट पुगेर फर्किएको अनुभवमार्फत जीवनको पुनरावलोकन गरेका छन्। यसमा उनले आफ्ना चिन्तन, भावना र अनुभूतिलाई ‘मृत्यु निकटको सङ्कल्पना (डाइङ डिक्लेरेसन)’ जस्तै प्रस्तुत गरेका छन्, जसले पाठक र समाजलाई गम्भीर रूपमा सोच्न बाध्य बनाउँछ।
यस कृतिमा जीवनप्रेम मात्र होइन, शक्ति र न्यायसम्बन्धी नयाँ दृष्टिकोण पनि प्रस्तुत गरिएको छ। निर्बाध आत्माभिव्यक्ति, आलोचनात्मक चिन्तन र अनुभूतिको भाषिक सामर्थ्यका आधारमा यो कृति सफल मनालापको रूपमा स्थापित भएको देखिन्छ।
स्वयं लेखकले पनि यसलाई ‘जीवन र मृत्युको बीचमा बसेर लेखिएको मनको आलाप’ बताएका छन्, जहाँ रोगलाई केन्द्रमा राखेर समाज, मान्छे र संसारको गहिरो विश्लेषण गरिएको छ।
नेपाली साहित्यमा अस्तित्ववादी मनालाप कृति अत्यन्त कम रहेको अवस्थामा ‘कालो आँधी’ विधाभञ्जक र महत्त्वपूर्ण कृतिका रूपमा आएको छ। यो डा. पुडासैनीको २१औँ कृति हो। यसअघि उनका कवितासङ्ग्रह, नियात्रा, दर्शन र व्यवस्थापनसम्बन्धी कृतिहरू प्रकाशित भइसकेका छन्।
