रामजी यादव श्रम र गौरी कुमारी उद्योग मन्त्री नियुक्त
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् विस्तार गर्दै दुई नयाँ मन्त्री नियुक्त गरेका छन्। उद्योग मन्त्रालयमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा रामजी यादवलाई नियुक्त गरिएको हो।
गौरीकुमारी यादव महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद हुन् भने रामजी यादव सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष सीके राउतलाई पराजित गर्दै संसद् पुगेका थिए।
नवनियुक्त दुवै मन्त्रीले आजै राष्ट्रपति भवनमा आयोजित समारोहमा राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ।
यसअघि पदीय मर्यादाको दुरुपयोग गरेको आरोपमा प्रधानमन्त्री शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका थिए।
उद्योग मन्त्रालय सरकार गठनदेखि नै प्रधानमन्त्री शाह आफैंले सम्हाल्दै आएका थिए भने रक्षा मन्त्रालयको जिम्मेवारी पनि उनीसँगै रहँदै आएको छ।
