नागढुंगा सुरुङ मार्गको भाडा कति ?
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि लाग्ने शुल्क सार्वजनिक गरेको छ।
मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै सडक बोर्ड ऐन, २०५८ को दफा ६ को उपदफा (१) अनुसार मन्त्रिपरिषद्ले दिएको अधिकार प्रयोग गरी सुरुङमार्ग प्रयोगबापत दस्तुर तोकिएको जनाएको हो।
मन्त्रिपरिषद्ले गत साउन २६ गते नै उक्त शुल्क निर्धारण गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार आज राजपत्रमार्फत दर सार्वजनिक गरिएको हो।
नयाँ दरअनुसार कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौँ प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ।
त्यस्तै, मिनीबस तथा मिनी टिपर/ट्रकका लागि प्रवेश शुल्क ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ तोकिएको छ। बस तथा सिङ्गल रियर एक्सल ट्रकका लागि प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ लाग्नेछ।
मल्टी एक्सल ट्रक तथा भारी उपकरणका हकमा प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
