`

अन्तरिक्षमा पुग्न किन भइरहेको छ प्रतिष्पर्धा ?

Nepal One HD २८ चैत २०८२ १४:१०
प्रमुख खबर

अन्तरिक्ष अन्वेषण किन आवश्यक छ भन्ने प्रश्नको उत्तर खोज्दा नासाले मानवताको समग्र हितलाई केन्द्रमा राखेर काम गरिरहेको भन्छ । नासाको मुख्य उद्देश्य ब्रह्माण्डका रहस्यहरू पत्ता लगाउनु, नयाँ सम्भावनाहरू सिर्जना गर्नु र खोजमार्फत विश्वलाई प्रेरित गर्नु हो। यसको अन्वेषण दृष्टिकोण केही आधारभूत प्रश्नहरूको उत्तर खोज्न केन्द्रित छ। 

हामी किन यहाँ छौँ? सबै कुरा कसरी सुरु भयो? के हामी ब्रह्माण्डमा एक्लै छौँ? ब्रह्माण्ड कतिवटा छन् ? अब के हुन्छ? हामी आफ्नो जीवनलाई कसरी राम्रो बनाउन सक्छौँ? यस्ता प्रश्नहरूले मानव जिज्ञासालाई अघि बढाउँदै विज्ञान र प्रविधिको विकासमा ठूलो योगदान पुर्‍याएका छन्।

नासाको स्थापना करिब आधा शताब्दीभन्दा पहिले यिनै प्रश्नहरूको उत्तर खोज्नका लागि गरिएको थियो। त्यसयता अन्तरिक्ष अन्वेषण मानव जातिको सबैभन्दा एकीकृत र सीमाविहीन प्रयासमध्ये एक बनेको छ। विभिन्न देशहरूबीचको सहकार्य यसको प्रमुख विशेषता हो।

१५ देशका पाँच अन्तरिक्ष एजेन्सीहरूको साझेदारीमा सञ्चालन भइरहेको ‘अन्तराष्ट्रिय स्पेस स्टेसन’ मानव सहयोगको उत्कृष्ट नमुना हो। यसैगरी, दुई दर्जनभन्दा बढी देशहरूले ‘आर्टेमिस एकोर्ड्स’ मा हस्ताक्षर गरेर चन्द्रमामा दीर्घकालीन मानव अन्वेषण र अनुसन्धानका लागि साझा मूल्य र प्रतिबद्धता जनाएका छन्।

अन्तरिक्ष अन्वेषणबाट हामीले पृथ्वी र सौर्यमण्डललाई नयाँ दृष्टिकोणबाट अध्ययन गर्न पाएका छौँ। यसले जलवायु परिवर्तन, प्राकृतिक स्रोतहरूको व्यवस्थापन र वातावरणीय संरक्षणजस्ता महत्वपूर्ण विषयहरू बुझ्न सहयोग पुर्‍याउँछ। साथै, अन्तरिक्ष प्रविधिको विकासले हाम्रो दैनिक जीवनलाई पनि सहज बनाएको छ। सञ्चार, नेभिगेशन, मौसम पूर्वानुमान र चिकित्सा क्षेत्रमा भएका प्रगतिहरू यसको उदाहरण हुन्।

यसका अतिरिक्त, अन्तरिक्ष अन्वेषणले नयाँ पुस्तालाई प्रेरणा दिन्छ। यसले कलाकार, वैज्ञानिक, इन्जिनियर, आविष्कारक र चिन्तकहरूलाई नयाँ सोच र सिर्जनशीलतामा अघि बढ्न उत्प्रेरित गर्छ।

अन्तरिक्षमा जाने प्रयास केवल वैज्ञानिक जिज्ञासा मात्र नभई मानव जीवनको समग्र उन्नति र भविष्य निर्माणसँग प्रत्यक्ष रूपमा जोडिएको महत्वपूर्ण यात्रा हो।

आजका दिनमा नासा,सीएनएसए,रस्कसमस जस्ता राष्ट्रिय अन्तरिक्ष एजेन्सीहरू मात्र होइन, स्पेस-एक्स र ‘ब्ल्यु ओर्जीन’ जस्ता निजी कम्पनीहरू पनि यस दौडमा सक्रिय छन्। यसको सबैभन्दा ठुलो कारण वैज्ञानिक खोज हो। अन्तरिक्ष अन्वेषणले ब्रह्माण्ड, ग्रह, तारा, र पृथ्वीको उत्पत्तिबारे नयाँ जानकारी दिन्छ। देशहरू आफूलाई वैज्ञानिक रूपमा अगाडि राख्न चाहन्छन्, त्यसैले उनीहरूबीच अनुसन्धानमा प्रतिस्पर्धा हुन्छ।

प्रविधिको विकासका लागि अन्तराष्ट्रिय शक्ति केन्द्रहरुले अन्तरिक्षमा जान प्रतिष्पर्धा गरिरहेका छन्। अन्तरिक्षमा प्रयोग हुने प्रविधिहरू  उपग्रह, रोबोट, र रकेट- पछिल्ला दिनहरूमा सञ्चार, इन्टरनेट, मौसम पूर्वानुमान, जीपीएस जस्ता दैनिक सेवामा प्रयोग भइरहेका छन्। यसबाट अन्तराष्ट्रिय शक्ति केन्द्रहरुले एकातिर प्रविधिको विस्तारको रफ्तारलाई नयाँ उचाईतिर पुर्याउन सक्छन् भने अर्कोतिर यसबाट उनीहरुलाई आर्थिक र रणनीतिक रूपमा फाइदा पुग्छ।

अन्तरिक्ष राष्ट्रिय प्रतिष्ठा र शक्ति प्रदर्शनको विषय पनि हो । अन्तरिक्षमा सफलता हासिल गर्नु देशको शक्ति, क्षमता र प्रगतिशील छविको प्रतीक मानिन्छ। इतिहासमा स्पेस रेसको समयमा अमेरिका र सोभियत संघबीच भएको प्रतिस्पर्धा यसको प्रमुख उदाहरण हो।

अन्तरिक्षको अन्वेशणबाट हुने अर्को फाइदा भनेको आर्थिक अवसरको सिर्जना हो। अन्तरिक्षमा खनिज स्रोत, स्याटेलाइट सेवा, अन्तरिक्ष पर्यटन जस्ता नयाँ उद्योगहरू विकसित भइरहेका छन्। भविष्यमा चन्द्रमा वा मंगल ग्रहमा स्रोत उपयोग गर्ने सम्भावना पनि भएकाले देशहरू र कम्पनीहरू यस क्षेत्रमा लगानी गरिरहेका छन्। 

अन्तरिक्षको प्रतिष्पर्धा पृथ्वीमा सम्भावित जोखिमहरू (जलवायु परिवर्तन वा अन्य संकट) लाई ध्यानमा राख्दै मानव जातिको दीर्घकालीन अस्तित्वका लागि अन्य ग्रहमा बसोबास गर्ने सम्भावना खोज्ने प्रयास भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *