`

इरानसँगको वार्ता निष्कर्षविहीन,अमेरिकी उपराष्ट्रपति भान्स स्वदेश फर्किए

Nepal One HD २९ चैत २०८२ ११:०१
प्रमुख खबर

एजेन्सी। इरानसँगको शान्ति वार्ता निष्कर्षमा पुग्न नसकेपछि अमेरिकी उपराष्ट्रपति जेडी भान्स पाकिस्तानबाट स्वदेश फर्किएका छन्। इस्लामावादमा आयोजित पत्रकार सम्मेलनमार्फत वार्ता असफल भएको संकेत दिँदै उनी अमेरिकी टोलीसहित वासिङ्टनतर्फ प्रस्थान गरेका हुन्।

पत्रकार सम्मेलनमा सञ्चारकर्मीका प्रश्नहरूको जवाफ दिँदै उपराष्ट्रपति भान्सले वार्ताको औपचारिक प्रक्रिया सकिएको र अमेरिकी प्रतिनिधिमण्डल स्वदेश फर्कने तयारीमा रहेको जानकारी दिए। त्यसपछि उनी सरकारी विमानमार्फत वासिङ्टनका लागि उडे।

यसैबीच, वार्ता सकिएपछि इरानको विदेश मन्त्रालयले पनि विज्ञप्ति जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरेको छ। इरानले आफूहरू सकारात्मक रूपमा वार्तामा सहभागी भएको दाबी गरे पनि अमेरिकाका अत्यधिक मागका कारण सहमति हुन नसकेको जनाएको छ।

इरानी पक्षले विज्ञप्तिमा वार्ताको सफलता चाहिने हो भने अमेरिकाले आफ्ना गैरकानुनी माग त्याग्नुपर्ने र इरानका वैध अधिकार तथा हितलाई स्वीकार गर्नुपर्ने उल्लेख गरेको छ।

मध्यपूर्वमा बढ्दो तनावबीच द्विपक्षीय सम्बन्ध सुधारका लागि भएको यो वार्ता निष्कर्षविहीन टुंगिएपछि क्षेत्रीय सुरक्षाबारे चिन्ता अझ बढेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *