तीन जना मृत अवस्थामा फेला
काठमाडौं । देशका विभिन्न जिल्लामा छुट्टाछुट्टै घटनामा तीन जना व्यक्ति मृत अवस्थामा फेला परेका छन्। क्रमश: जुम्ला, म्याग्दी र कैलालीमा उनीहरूको शव भेटिएको हो।
जुम्लाको चन्दननाथ नगरपालिका-२ कालिखोलीस्थित सडकको नालीमा सोमबार एक पुरुष मृत अवस्थामा फेला परेका छन्। मृतक सोही नगरपालिका-३ डाँडाकोटका ४२ वर्षीय मनबहादुर सार्की रहेको नेपाल प्रहरीले जनाएको छ।
त्यस्तै, म्याग्दीको अन्नपूर्ण गाउँपालिका-८ राम्चेस्थित निधाल्नी खोलामा आइतबार अन्दाजी ५० वर्षीय एक पुरुष मृत फेला परेका छन्। उनको नाम, थर र ठेगाना हालसम्म खुल्ननसकेको प्रहरीले जनाएको छ।
यता, कैलालीको जानकी गाउँपालिका-९ कतासेस्थित रानीजमरा–कुलरिया सिँचाइ नहरमा सोमबार अन्दाजी ३५ वर्षीय अर्का एक पुरुष मृत अवस्थामा फेला परेका छन्। उनको पहिचान पनि खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
ती सबै घटनाका सम्बन्धमाआवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।
