मन्त्रिमण्डलको सम्पतिले चर्कियो बहस : आलोचनाको अचानोमा सरकार
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह सहित मन्त्रिपरिषद्का सदस्यहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेसँगै राजनीतिक वृत्त र सार्वजनिक बहसमा तीव्रता आएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सार्वजनिक गरेको विवरणमा घरजग्गा, शेयर, सुनचाँदी, गरगहना, नगददेखि पशुधनसम्मका सम्पत्तिहरू समेटिएका छन्। अधिकांश मन्त्रीहरूको उल्लेखनीय सम्पत्ति र सुनचाँदीले जनमानसमा चासो, प्रश्न र आलोचना एकसाथ जन्माएको छ।
सार्वजनिक विवरणअनुसार प्रधानमन्त्री शाहसँग उल्लेख्य सम्पत्ति रहेको देखिए पनि त्यसको ठूलो हिस्सा पैतृक रहेको उल्लेख गरिएको छ। उनले १ करोड ४६ लाख रुपैयाँ नगद रहेको जनाउँदै फेसबुक, युट्युब, टिकटक र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालबाट आम्दानी भएको बताएका छन्। मधेस र काठमाडौंमा घरजग्गा रहेको तथा पत्नी सबिना काफ्लेको नाममा १९० तोला सुन रहेको विवरणमा उल्लेख छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले आफ्नो विवरणमा चारवटा घर र अपार्टमेन्ट उल्लेख गरेका छन्। उनको मुख्य आम्दानी स्रोत विदेशको जागिर रहेको देखाइएको छ। बैंकमा १ करोड ९० लाख रुपैयाँ मौज्दात र ४५ तोला सुनका साथै विभिन्न जलविद्युत् आयोजना र एक विकास बैंकमा सेयर लगानी रहेको जनाइएको छ।
गृहमन्त्री सुधन गुरुङको सम्पत्ति विवरणमा धनकुटामा १९ रोपनी १५ आना, चितवनमा पिताको नाममा ३० कठ्ठा र गोरखामा बाजेको नाममा २ सय २१ रोपनी जग्गा उल्लेख छ। सेयर बजारमा ४ करोड ३१ लाख रुपैयाँभन्दा बढी लगानी, ८९ तोला सुन तथा विभिन्न कम्पनीमा लगानी रहेको विवरणमा देखिन्छ।
परराष्ट्रमन्त्री शिशिर खनालका बुबाको नाममा काठमाडौंमा घर र तनहुँ, नवलपुर तथा नेपालगन्जमा २८ रोपनी २ कट्ठा जग्गा रहेको छ। साथै १३ लाख नगद र २२ तोला सुन तथा विभिन्न कम्पनीमा सेयर रहेको उल्लेख छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले १५ तोला सुन, ५० तोला चाँदी, विभिन्न बैंकमा करिब ६४ लाख रुपैयाँ नगद, घर, गाडी तथा सेयर लगानी उल्लेख गरेका छन्।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग काठमाडौं र चितवनमा घर, १० लाख ५० हजार रुपैयाँ बैंक मौज्दात, १५ तोला सुन, एक तोला हिरा र नौ तोला चाँदी रहेको विवरणमा छ। उनले विभिन्न बैंकबाट ऋण लिएको पनि उल्लेख गरेकी छन्।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादीको सम्पत्ति विवरण अपेक्षाकृत सानो देखिएको छ। उनको नाममा ५० हजार नगद, बैंकमा करिब १५ लाख रुपैयाँ, १८ तोला सुन, १५ तोला चाँदी, २० कुखुरा र एउटा कुकुर रहेको उल्लेख छ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालसँग ९० लाख रुपैयाँ बैंक मौज्दात, ३० तोला सुन, ५० तोला चाँदी तथा विभिन्न जिल्लामा घरजग्गा रहेको उल्लेख छ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले काठमाडौं र बारामा जग्गा, २५ तोला सुन, २४ लाख रुपैयाँ बचत, २० लाख ऋण र ४४ लाख बराबरको गाडी रहेको विवरण सार्वजनिक गरेकी छन्।
कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीसँग पाँच तोला सुन, १०० तोला चाँदी, करिब १ लाख २६ हजार रुपैयाँ बचत तथा दुई बाख्रा र १० कुखुरा रहेको उल्लेख छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवसँग काठमाडौं र महोत्तरीमा जग्गा, १८० तोला सुन, दुई किलो चाँदी, हिराका गहना तथा ३ करोड ३८ लाख रुपैयाँ बराबरको लगानी रहेको विवरणमा छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले घरजग्गा, ३० तोला सुन, ५० तोला चाँदी, बैंक बचत, सेयर र गाडी रहेको जनाएकी छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले पोखरामा घर, पैतृक जग्गा, ११ तोला सुन, पाँच तोला चाँदी तथा बैंक र सहकारीमा नगद र ऋण रहेको उल्लेख गरेका छन्।
सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले काठमाडौंमा घर, १० लाख ३४ हजार रुपैयाँ बचत तथा सुनचाँदी रहेको विवरण सार्वजनिक गरेका छन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवसँग सप्तरीमा पैतृक घरजग्गा, ८० तोला सुन, १५० तोला चाँदी तथा बैंक बचत रहेको उल्लेख छ।
सम्पत्ति विवरण सार्वजनिक भएसँगै चौतर्फी प्रतिक्रिया आएको छ। एमाले नेता गोकुल बास्कोटाले सामाजिक सञ्जालमार्फत सरकारको आलोचना गर्दै ‘देश लंका बनिसकेको’ भन्दै कटाक्ष गरेका छन्। उनले मन्त्रीहरूको सुनलाई ‘डाँडाभरि लालीगुराँस फुलेजस्तै खेतबारीमा पहेँलपुर तोरी फुलेको’ टिप्पणी गरेका छन्।
यस्तै, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङले सम्पत्तिको स्रोत सार्वजनिक गर्न माग गरेका छन्। उनले स्रोत नखुलेको सम्पत्तिलाई भ्रष्टाचारसँग जोडेर हेर्न सकिने उल्लेख गर्दै पारदर्शिता आवश्यक भएको बताएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले पनि मन्त्रीहरूको सम्पत्तिमा पारदर्शिता अभाव देखिएको टिप्पणी गरेका छन्। उनले औसत नेपालीको आयभन्दा धेरै माथि सम्पत्ति देखिएको र कतिपय अवस्थामा हदबन्दीभन्दा बढी जग्गासमेत देखिएको भन्दै आय र कर विवरणसमेत सार्वजनिक गर्न माग गरेका छन्।
यसैबीच, गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत आफ्नो सम्पत्तिबारे स्पष्टीकरण दिएका छन् । उनले लेखेका छन्, ‘तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो।’ भनेका छन्। उनले सरकारमा आउनुअघि बिना भ्रष्टाचार कमाउनु पाप नभएको बताउँदै सरकारमा आएर भ्रष्टाचार गरेर कमाउनु पाप भएको जिकिर गरेका छन्।
नयाँ सरकार गठन भएको १७ दिनमै सम्पत्ति विवरण सार्वजनिक हुनु पारदर्शिता र उत्तरदायित्वतर्फ सकारात्मक कदम मानिए पनि, सार्वजनिक विवरणमा देखिएको ठूलो परिमाणको सम्पत्तिले सरकारलाई प्रश्नको घेरामा ल्याएको छ। स्रोत, वैधता र करसम्बन्धी स्पष्टता दिन नसके पारदर्शी छवि कायम गर्न चुनौती हुने देखिएको छ।
