`

नयाँ वर्षमा राष्ट्रिय एकता र स्थिरतामा जोड दिन ज्ञानेन्द्र शाहको आह्वान (भिडियाे)

Nepal One HD ३० चैत २०८२ १७:४१
प्रमुख खबर

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रिय एकता, स्थिरता र आत्मनिर्भरता सुदृढ गर्न आह्वान गरेका छन्।

देशभित्र तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति र समृद्धिको कामना गर्दै उनले विगतका कमजोरी सच्याउँदै राष्ट्रलाई प्रगतिपथतर्फ अघि बढाउनुपर्ने बताएका छन्।

उनले विगतका वर्षहरूमा अपेक्षित विकास हुन नसकेको उल्लेख गर्दै राजनीतिक परिवर्तनहरू भए पनि त्यसले स्थायित्व र समृद्धि दिन नसकेको टिप्पणी गरेका छन्। 

‘दलदलको खलबलमा धेरै दगुरियौं, तर राष्ट्रको श्रीवृद्धिमा पछि पर्‍यौं,’ उनले सन्देशमा भनेका छन्।

ज्ञानेन्द्र शाहले देश अहिले बहुआयामिक समस्याले ग्रसित रहेको उल्लेख गर्दै आर्थिक सुधार, आन्तरिक सुरक्षा सुदृढीकरण तथा अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित बनाउनेतर्फ ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन्। युवापुस्ताको राजनीति र राज्य सञ्चालनमा बढ्दो सहभागितालाई सकारात्मक रूपमा लिँदै उनले शिक्षित र दक्ष जनशक्तिको प्रयोगबाट राष्ट्रलाई अघि बढाउन सकिने विश्वास व्यक्त गरेका छन्।

उनले भनेका छन्, ‘स्थिरता, निरन्तरता, दृढता कता कता हराएर गयो । विधि, पद्धति, व्यक्ति बदलेर मात्रै समग्र स्थिति बन्ने रहेनछ भन्ने कुराको पाठ हामीलाई विगतले सिकाएको छ । राजनीति र राज्य सञ्चालनको गतिविधिमा युवा पिढीको संलग्नता बढ्दै जानु उत्साहको विषय हो । पढेलेखेका, देश बुझेका र आधुनिक प्रविधिको ज्ञान भएका उत्साही पात्रहरूको आगमनले राष्ट्रलाई फलदायी बनाउनुमा मद्दत पुग्छ भन्ने हामीलाई लागेको छ।’

उनले देशलाई आत्मनिर्भर र स्वाधीन बनाउन स्रोतसाधनको उचित उपयोग आवश्यक रहेको उल्लेख गर्दै सांस्कृतिक पहिचान, परम्परा र मौलिकताको संरक्षणमा जोड दिएका छन्।

सन्देशमा उनले निषेध, द्वन्द्व र प्रतिशोधको राजनीतिले देशलाई कमजोर बनाउने भन्दै संवाद, सहमति र सहकार्यबाट समाधान खोज्न आग्रह गरेका छन्।

नेपाललाई शान्ति र समृद्धिको मार्गमा अघि बढाउन सबै पक्ष एकजुट हुनुपर्ने उल्लेख गर्दै उनले नयाँ वर्षले सबै नेपालीमा न्याय, शान्ति र सुख ल्याओस् भन्ने कामना गरेका छन्।

भिडियाे:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *