`

फुटको सम्मुखमा कांग्रेस

Nepal One HD ४ वैशाख २०८३ १५:०७
नेपाली कांग्रेस

काठमाडौं। गुट नै गुटको समिश्रणबाट बनेको नेपाली कांग्रेस आन्तरिक कलहका कारण फुटको सम्मुख पुगेको देखिन्छ।  कांग्रेस केन्द्रीय अनुशासन समितिले २ वैशाख २०८३ मा उपसभापति पदमा नरहेको दाबी गर्दै पूर्णबहादुर खड्कासँग स्पष्टीकरण मागेपछि पार्टीभित्रको विवाद सतहमा आएको हो। 

समितिले स्पष्टीकरणसँगै कारबाहीको चेतावनी दिएपछि पार्टीभित्रको आन्तरिक मतभेद अझ स्पष्ट रूपमा देखिन थालेको हो। तर, पूर्णबहादुर खड्काले आफू अझै आधिकारिक उपसभापति रहेको दाबी गर्दै उक्त निर्णय अस्वीकार गरेका छन्। 

जेनजी आन्दोलनपछि भएको विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापति चयन भए पनि शेरबहादुर देउवा र शेखर कोइराला समूहले त्यसलाई अस्वीकार गरेपछि कांग्रेसभित्र नेतृत्व विवाद झन् चर्किएको  छ। यससँगै पार्टी तीन धारमा विभाजित भएको विश्लेषण गरिएको छ।

कांग्रेसको आधिकारिकता विवाद र १५औँ महाधिवेशनको कार्यतालिका स्थगनको माग गर्दै दायर मुद्दामा सर्वोच्चमा बहस जारी छ ।  शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा सुनुवाइ जारी छ । अहिले विपक्षी तर्फका वकीलले बहस गरिरहेका छन् । उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल इजलास पुगेका छ्न् । अहिले टी ब्रेक भएको छ । टी ब्रेकपछि शर्मा र भुसालले बहस गर्ने छन् । साढे ३ सम्म विपक्षी वकीलको बहसपछि जवाफी बहस हुनेछ ।  

अहिलेसम्म विपक्षीतर्फबाट सेमन्त दाहाल, वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य, वरिष्ठ अधिवक्ता सीताराम केसी र पूर्वन्यायाधिवक्ता दिनमणि पोखरेलले बहस गरेका छन् ।

बिहिबार रिट निवेदक र निर्वाचन आयोगको तर्फबाट सरकारी वकीलले बहस गरेका थिए । जवाफी बहसपछि सम्भवत: शुक्रबार नै आदेश आउने सम्भावना रहेको कानुन व्यवसायीले बताएका छन्।  

यसअघि सर्वोच्च अदालतले उक्त विवादमा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो। २०८२ माघ ६ गते न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले अन्तरिम आदेश नदिई निर्वाचन आयोगलगायत पक्षसँग लिखित जवाफ माग गरेको थियो। 

ऐतिहासिक लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेको कांग्रेस अहिले आन्तरिक कलह, कमजोर प्रतिपक्ष भूमिका र निर्वाचनमा आएको पराजयका कारण संकटमा परेको छ। संगठनभित्रको असहमति र नेतृत्व विवादका कारण पार्टी दबाबमा परेको देखिन्छ।

पछिल्लो निर्वाचनमा कमजोर प्रदर्शन र नेताबीच बढ्दो असहमतिको असरले पार्टी गम्भीर संकटतर्फ धकेलिएको नेताहरूले बताएका छन्। नेताहरूका अनुसार पार्टीभित्रको आन्तरिक विवाद समाधान नभए संगठन थप कमजोर हुने र फुटको अवस्था समेत आउन सक्ने जोखिम रहेको छ।

यसैबीच,पूर्वसभापति देउवा, वर्तमान सभापति थापा र नेता कोइरालाले छुट्टै राजनीतिक रणनीति तथा सम्भावित नयाँ संरचना निर्माणका लागि आन्तरिक गृहकार्य थालेको आन्तरिक स्रोतको दाबी छ। यद्यपि, यसबारे पार्टीभित्र औपचारिक रूपमा कुनै निर्णय सार्वजनिक गरिएको छैन।

अन्ततः फुटको मुखमा पुगेको कांग्रेसको कमजोर अवस्थाले समग्र लोकतान्त्रिक प्रणालीमै असर पार्न सक्ने विश्लेषकहरूले बताएका छन्। विश्लेषकहरूका अनुसार पार्टीभित्रको अविश्वास, गुटबन्दी र नेतृत्वबीचको असहमति अन्त्य नभएसम्म एकता कायम रहन कठिन देखिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *