`

‘आमा तिमी मूर्ख हौ’

देव व्रत ४ वैशाख २०८३ १७:४३
बिशेष

आमा तिमी मूर्ख हौ
००००००

तिमी महान् होइनौ; मूर्ख हौ
देवी होइनौ; दासी हौ।

मध्येरातमा घर छेउकै सडकपेटीमा पुगेर
शरीरमा जाँड मुतेर पल्टिन्छ एक लोग्ने मान्छे

टोल थर्किनेगरी, अश्लील गाली गर्छ तिमीलाई
तिमी काँध हालेर ल्याउँछौ घर

ऊ दैलोमा बजार्छ लात्ती
उखेल्छ तिम्रा रौंहरू

तिम्रै मुखमा फालिदिन्छ तिमीले प्रेमले पस्किएको भात
अगुल्टोले हिर्काउँछ तिमीलाई

चिथोर्छ, लुच्छ, थिलथिलो पार्छ
खेल्छ तिम्रो शरीरसित

तिमी सृष्टि हैनौ
स्वास्नी हौ
फगत स्वास्नी
केवल एक आइमाई मान्छे।

तिमीले सपना देख्न छाडिदियौ
सहादता दियौ प्रेमको
हत्या गर्यौ रहरहरूको
आगो लगायौ आफ्नै सपनाहरूमा

अब तिमीसँग तिम्रो आवाज छैन
तिमीसँग तिम्रा सपनाहरू छैनन्
तिमीसँग तिमी हुनुको पहिचान छैन
तिमीसँग तिम्रै जिन्दगी पनि छैन

तिमी माटो हौ
पोखरीको डिलको एक डल्लो माटो
जसलाई जसले जसरी पनि खेलाउन सक्छ

प्रतिकारका लागि छैनन् तिमीसँग मुठ्ठीहरू
बोक्सी भनेर मलमूत्र खुवाउन होस्
वा कपाल मुडेर गाउँ डुलाउन
वेश्या भनेर नाङ्गै लखेट्न होस्
वा दाइजोमा जोखेर जिउँदै जलाउन

तिमीभन्दा सस्तो खेलौना नै के छ अरु?

एक चोटा भान्साघर,
एक थान वासिङ मेसिन,
एक टिफिनको डिब्बा,
एक अञ्जुली पँधेरो,
एक दाना खेत,
एक कोसा करेसाबारी,
एक भारी वन,
एक बटुका तेल,
अनि एक ओछ्यान रात

यो भन्दा बढ्ता के हौ तिमी?

म सराप्छु तिम्रो ममतालाई
धिक्कार तिम्रो सहनशीलता

मलाई थुक्न मन छ- तिम्रो देवताको मुखमा
सक्थेँ भने म,
मेटाइदिन्थेँ मभित्रको तिम्रो दासत्वको अंश
च्यातिदिन्थेँ तिम्रो स्वाँठ आधा आकाशको बिर्ता

यो सुन्निएको आँखा
तेजाब भरिएको अनुहार
यी कलेटी परेका ओठ
पट्पटी फुटेका हत्केला
सडेका पैताला
घाउले भरिएको पिठ्युँ

यो सबलाई तिमी महान् भन्छौ?
धर्तीको सहनशीलता भन्छौ ?
र भन्छौ आफू बाँच्नुको धर्म ?

तिम्रो त जन्मै पनि दुर्घटना हो
तिमी नचाहिएकी हौ
तिमी नरुचाइएकी हौ

यी हजार अत्याचारहरू साक्षी छन्
यी हजार उत्पीडनहरू साक्षी छन्

तिमी महान् होइनौ; मूर्ख हौ
देवी होइनौ; दासी हौ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *