डिजेल-पेट्रोल पछि पिउने पानीको मूल्य पनि बढ्दै
काठमाडौं । नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानी उत्पादनको लागत उल्लेख्य रूपमा बढेको जनाउँदै आफ्ना सदस्य उद्योगहरूलाई मूल्य समायोजन गर्न आग्रह गरेको छ।
शनिबार जारी विज्ञप्तिमा महासंघले अन्तर्राष्ट्रिय र आन्तरिक दुवै कारणले उद्योग सञ्चालन नै कठिन बन्दै गएको उल्लेख गर्दै मूल्य वृद्धि अपरिहार्य भएको जनाएको छ। महासंघका अनुसार पानी उद्योगमा प्रयोग हुने कच्चा पदार्थ बोतल, क्याप, र्यापिङ रोल, जार तथा जारको क्याप—को मूल्य करिब ४० प्रतिशतसम्म बढेको छ। साथै, पेट्रोलियम पदार्थ विशेषगरी डिजेलको मूल्यवृद्धिले ढुवानी खर्च पनि उल्लेख्य रूपमा बढाएको छ।
महासंघले अन्तर्राष्ट्रिय परिस्थितिलाई पनि लागत वृद्धिको प्रमुख कारणका रूपमा औंल्याएको छ। इरान–इजरायल तनाव र इरान–अमेरिका सम्बन्धमा देखिएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजार, आपूर्ति प्रणाली तथा ढुवानी क्षेत्रमा परेको प्रभावले कच्चा पदार्थको मूल्य र उपलब्धतामा प्रत्यक्ष असर परेको जनाएको छ।
हाल नेपालमा ६२० भन्दा बढी पानी उद्योग सञ्चालनमा रहेका छन्, जसमा १६ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ। यस क्षेत्रले ३० हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिँदै आएको छ। सुरक्षित र गुणस्तरीय पानी आपूर्ति गर्दै राष्ट्रिय अर्थतन्त्र र राजस्वमा योगदान पुर्याउँदै आएको यो क्षेत्र बढ्दो लागतका कारण संकटमा परेको महासंघका महासचिव ध्रुवप्रसाद अधिकारीले बताएका छन्।
