देशभर २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै
काठमाडौं। सरकारले आइतबार र सोमबार देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने कार्यक्रम सञ्चालन गरेको छ। राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिटामिन ‘ए’सँगै जुकाको औषधि पनि वितरण गरिरहेको जनाएको हो ।
स्वास्थ्य सेवा विभागका अनुसार ६ महिनादेखि ५९ महिनासम्मका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइनेछ। त्यस्तै, एक वर्षदेखि पाँच वर्षमुनिका करिब २० लाख बालबालिकालाई जुकाको औषधि ‘अलबेन्डाजोल’ पनि दिइँदैछ।
कार्यक्रम सञ्चालनका लागि देशभर पायक पर्ने स्थानमा खोप केन्द्र स्थापना गरिएका छन् भने करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ।
चिकित्सकका अनुसार भिटामिन ‘ए’ले आँखाको ज्योति, रोग प्रतिरोधात्मक क्षमता र बालबालिकाको वृद्धि विकासमा महत्वपूर्ण योगदान पुर्याउँछ। जुकाको औषधिले पेटका किरा हटाउनुका साथै कुपोषण, रगतको कमी र पेटसम्बन्धी समस्याबाट जोगाउन मद्दत गर्छ।
नेपालमा भिटामिन ‘ए’ कार्यक्रम २०५० सालमा आठ जिल्लाबाट सुरु भई २०५९ देखि देशभर विस्तार गरिएको हो। जुकाको औषधि वितरण कार्यक्रम २०५६ मा १३ जिल्लाबाट सुरु भई २०६७ देखि सबै जिल्लामा लागू गरिएको छ। प्रत्येक वर्ष कात्तिक र वैशाखमा यस्तो कार्यक्रम सञ्चालन हुँदै आएको छ।
