फिल्म ‘मालती मंगले’ को गीत ‘झ्याम पारम’ सार्वजनिक
काठमाडौं। लोकप्रिय गायक रामकृष्ण ढकालद्वारा निर्माण गरिएको फिल्म ‘मालती मंगले’ मा समावेश गीत ‘झ्याम पारम’ सार्वजनिक गरिएको छ।
यसअघि सार्वजनिक भएका ‘सुनैको सपनी’ र ‘ढुंगामाथि लेऊ’ बोलका गीतले दर्शकको ध्यान खिचिसकेका छन् भने नयाँ डान्सिङ नम्बरले फिल्मप्रतिको उत्साह अझ बढाएको छ।
रामकृष्ण ढकाल र मेलिना राईको स्वर रहेको गीतमा राजेन्द्र थापाको शब्द रचना, राजनराज शिवाकोटीको संगीत तथा श्यामश्वेत रसाइलीको एरेन्जमेन्ट रहेको छ। भिडियोमा रोशन विश्वकर्माको कोरियोग्राफीले विशेष आकर्षण थपेको छ।
मुख्य कलाकार विजय बराल, वर्षा राउत र मेक्सम गौडेलसहित सविन कार्की (बिस्ट), एलिसा शर्मा र रोशित कर्माचार्यको गेस्ट अपियरन्स देख्न सकिन्छ। विशेषगरी सविन र एलिसाको नृत्यले भिडियोमा थप ऊर्जा भरेको छ।
प्रकु पाण्डेयको निर्देशनमा बनेको फिल्म ‘रानी फिल्म्स’ ब्यानरमा युनि इन्टरटेन्मेन्टसँगको सहकार्यमा निर्माण भएको हो। फिल्मको कथा निर्देशक पाण्डेयकै हो भने पटकथा तथा संवाद संयोग गुरागाईंले तयार पारेका हुन्।
फिल्ममा विजय बराल, वर्षा राउत र मेक्सम गौडेलसँगै नरिन थापा, मान्सु सापकोटा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनील तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पंगेनी, सुस्मिता गुरुङ र सागर भट्टराईलगायत कलाकारहरूको अभिनय रहेको छ।
सागर ज्ञवाली कार्यकारी निर्माता रहेका फिल्ममा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ सह-निर्माताका रूपमा रहेका छन्। महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको कलर ग्रेडिङ, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड म्युजिक, डिकेश खड्गीको ध्वनि मिश्रण र रोमी मोजेजको सम्पादन रहेको फिल्म वैशाख २५ गते देशभर प्रदर्शनमा आउनेछ।
