युक्रेनी आक्रमणपछि रुसको तेल प्रशोधन केन्द्र तहसनहस
एजेन्सी। किएभले सोमबार दक्षिणी शहर तुआप्सेको तेल प्रशोधन केन्द्रमा आक्रमण गरेपछि ठूलो आगलागी भएको छ, जसका कारण रुसको तटीय शहरको आकाशमा बाक्लो कालो धुवाँ फैलिएको रूसी अधिकारीहरूले बताएका छन्।
स्थानीय अधिकारीहरूका अनुसार रुसले ‘ब्ल्याक सी’ क्षेत्रस्थित पेट्रोलियम प्रशोधन केन्द्रमा युक्रेनले गरेको आक्रमणपछि दन्किएको आगो निभाउन निरन्तर प्रयास गरिरहेको छ।
क्षेत्रीय आपतकालीन मुख्यालयले बिहीबार एएफपीलाई दिएको जानकारीअनुसार, ‘तुआप्से तेल प्रशोधन केन्द्रका चारवटा भण्डारण ट्याङ्कीमा आगलागी भएको छ र आगो अझै नियन्त्रणमा आउन सकेको छैन।’
आगलागीका कारण बुधबार विषाक्त वर्षा भएको बताइएको छ। अधिकारीहरूले हावामा विषाक्त कणहरूको मात्रा सामान्यभन्दा दुईदेखि तीन गुणा बढेको जानकारी दिएका छन्।
स्थानीय प्रशासनका अनुसार विषाक्त धुवाँको वर्षाले तटीय क्षेत्रका बस्तीहरूमा सतहमा कालोपन देखिएको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका अपुष्ट तस्बिरहरूमा शहरमाथि ठूलो कालो बादल, समुद्र र किनारमा तेल फैलिएको, साथै मरेका माछा र चराचुरुङ्गीहरू देखिएका छन्। त्यस्तै, छाडा कुकुर र बिरालाहरूको शरीरसमेत कालो अवशेषले ढाकिएको देखिएको बताइएको छ।
प्रशासनले बुधबार नै स्थानीय बासिन्दालाई झ्याल बन्द राख्न, बाहिरी गतिविधि सीमित गर्न र आवश्यक परे मास्क लगाउन आग्रह गरेको थियो।
छुट्टी मनाउने पर्यटकहरूबीच लोकप्रिय तुआप्से शहर यसअघि पनि युक्रेनी आक्रमणको निशानामा परेको थियो।
युक्रेनले पछिल्ला हप्ताहरूमा रूसको ऊर्जा निर्यात संरचनामा आक्रमण तीव्र बनाउँदै आएको छ, जसलाई उसले रूसी सैन्य क्षमताको प्रमुख आर्थिक स्रोत कमजोर पार्ने रणनीति बताएको छ।
