`

रणवीर सिंह ‘डन ३’बाट बाहिरिएपछि विवाद,गालीगलौजबारे के हो कुरो ?

Nepal One HD १७ वैशाख २०८३ १८:३४
चलचित्र

एजेन्सी। बलिउड अभिनेता रणवीर सिंहले निर्देशक फरहान अख्तरको बहुप्रतिक्षित फिल्म ‘डन ३’ छाडेपछि फिल्मबारे विभिन्न अफवाह र चर्चाहरू तीव्र भएका छन्।

मिडिया रिपोर्टहरूका अनुसार रणवीरले फिल्ममा गालीगलौज र अत्यधिक हिंसात्मक दृश्य समावेश गर्न चाहेको बताइएको छ। जसमा फरहान अख्तर सहमत नभएपछि दुईबीच रचनात्मक मतभेद उत्पन्न भएको दाबी गरिएको छ। करिब तीन वर्षअघि सुरु भएको यो परियोजना हाल अनिश्चित अवस्थामा पुगेको बताइन्छ।

रिपोर्टमा रणवीर सिंहले ‘डन’ पात्रलाई आधुनिक समयअनुसार अझ अँध्यारो र हिंसात्मक रूपमा प्रस्तुत गर्न चाहेको उल्लेख छ। उनले दर्शकहरू यस्तो शैलीप्रति आकर्षित हुने विश्वास राखेको बताइन्छ। तर फरहान अख्तरले यस दृष्टिकोणलाई अस्वीकार गरेका थिए।

फरहान अख्तरले ‘डन’ फ्रेन्चाइजको आफ्नै शैली र गरिमा रहेको भन्दै यसमा अनावश्यक अपशब्द र अत्यधिक हिंसा उपयुक्त नहुने तर्क गरेका थिए। उनका अनुसार यसअघि अमिताभ बच्चन र शाहरुख खानले निभाएका ‘डन’ पात्र पनि स्टाइलिस र बौद्धिक अपराधीका रूपमा प्रस्तुत गरिएका थिए।  अश्लील भाषा वा अत्यधिक हिंसात्मक चरित्रका रूपमा  चित्रण नगरिएको बताएका छन्।

यही मतभेदका कारण रणवीर सिंह परियोजनाबाट बाहिरिएको र यसले फिल्म निर्माण पक्षलाई ठूलो आर्थिक तथा प्राविधिक असर पुर्‍याएको चर्चा छ। केही रिपोर्टमा करिब ४० करोड रुपैयाँसम्मको नोक्सान भएको दाबी समेत गरिएको छ।

हाल ‘डन ३’ को भविष्यबारे अनिश्चितता कायम रहेको छ भने फिल्म पुनः कहिले सुरु हुन्छ भन्नेबारे आधिकारिक जानकारी सार्वजनिक भएको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *