अप्रेशन गर्दा नोबेलमा बिरामीको मृत्यु,आफन्तले घेरे अस्पताल
विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरमा शल्यक्रिया गरिएका एक बिरामीको मृत्यु भएपछि आफन्तहरूले अस्पताल परिसरमा प्रदर्शन गरेका छन् ।
मृगौलाको पत्थरीको शल्यक्रिया गराएका मोरङ कानेपोखरी गाउँपालिका-६ का ५४ वर्षीय नेत्रप्रसाद भण्डारीको मृत्यु भएको हो ।
भण्डारीलाई मृगौलामा पत्थरी देखिएपछि वैशाख १७ गते अस्पताल भर्ना गरिएको थियो । सोही दिन उनको दुरबिन प्रविधिबाट शल्यक्रिया गरिएको थियो ।
शल्यक्रिया सफल भएको बताइए पनि अब्जरभेसनमा राखिएको अवस्थामा उनको स्वास्थ्य अवस्था बिग्रिएको थियो । उपचारका क्रममा शुक्रबार राति उनको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।
डाक्टरको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाउँदै आफन्तहरूले शनिबार बिहान प्रदर्शन गरेका हुन् ।
यता, नोबेल मेडिकल कलेजका व्यवस्थापक दीपेश राईले भने उपचारमा कुनै लापरबाही नभएको दाबी गरेका छन् । शल्यक्रियापछि बिरामीको अवस्था जटिल बनेपछि थप उपचारका क्रममा मृत्यु भएको उनको भनाइ छ ।
