वीरगञ्जमा निःशुल्क जलन शिविर : १५० जना लाभान्वित, ४६ जनाको शल्यक्रिया
वीरगञ्ज । पर्साको नारायणी अस्पतालमा सञ्चालन गरिएको ‘नबिल निःशुल्क जलन उपचार शिविर’बाट १५० जनाले परामर्श तथा उपचार सेवा प्राप्त गरेका छन्।
नबिल बैंक र नारायणी अस्पतालको संयुक्त आयोजना तथा फेक्ट नेपालको प्राविधिक सहयोगमा वैशाख १७ देखि २० गतेसम्म शिविर सञ्चालन गरिएको थियो।
शिविरका क्रममा ४६ जना बिरामीको वरिष्ठ चिकित्सकद्वारा शल्यक्रिया गरिएको बैंकले जनाएको छ। जटिल अवस्थाका ६ जना बिरामीलाई थप उपचारका लागि कीर्तिपुर अस्पतालमा रिफर गरिएको छ।
शिविरअघि मधेश प्रदेशका ६ जिल्लाका २७ पालिकामा स्क्रिनिङ क्याम्प सञ्चालन गरी बिरामीहरूको प्रारम्भिक पहिचान गरिएको थियो। फेक्ट नेपालका स्वास्थ्यकर्मीहरूले स्थानीय तहमै पुगेर विवरण संकलन गरेका थिए।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले नेपालमा जलन पीडितले अझै पनि पर्याप्त उपचार नपाउने अवस्था रहेको उल्लेख गर्दै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दुर्गम क्षेत्रका बिरामीलाई लक्षित गरी शिविर सञ्चालन गरिएको बताए।
त्यसैगरी, वरिष्ठ प्लास्टिक सर्जन डा. शंकरमान राईसहितको टोलीले शल्यक्रिया गरेको थियो। उनले चार दिने शिविर अपेक्षाभन्दा प्रभावकारी भएको र भविष्यमा यस्ता सेवा स्थानीय अस्पतालमै विस्तार गर्ने लक्ष्य रहेको बताए।
नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. चितरन्जन शाहले लामो समयदेखि जलनका कारण पीडित बिरामीलाई राहत पुगेको र उनीहरूको जीवनमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरे।
बैंकका अनुसार वैशाख २५ देखि २८ गतेसम्म लुम्बिनी प्रदेशमा पनि यस्तै शिविर सञ्चालन गरिनेछ।
यसअघि नबिल बैंकले सुदूरपश्चिम र कर्णाली प्रदेशमा समेत यस्ता निःशुल्क शिविर सञ्चालन गरिसकेको छ। फागुनमा धनगढीमा ६५ जना र चैतमा कर्णालीमा १९४ जनाले सेवा लिएका थिए।
नबिल बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, शिक्षा र उद्यमशीलता क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
