शक्ति कपूरको मृत्युको खबर झुटो
एजेन्सी। प्रविधिको दुनियाँमा जति छिटो सूचना फैलिन्छन्। त्यति नै छिटो भ्रामक खबरहरूले पनि मानिसलाई भ्रममा पार्ने गर्छन्।
पछिल्लो समय बलिउडका चर्चित अभिनेता शक्ति कपुरको बारेमा यस्तै झुटा समाचार सामाजिक सञ्जालमा भाइरल बनेका छन्।
हालै विभिन्न सामाजिक सञ्जाल पोस्टमार्फत शक्ति कपूरको निधन भएको भन्दै गलत दावी गरिएको थियो। हेर्दा-हेर्दै यो खबरहरू आगो झैँ फैलियो। धेरै प्रयोगकर्ताले सत्यता नबुझीकन अभिनेताप्रति श्रद्धाञ्जलीसमेत व्यक्त गर्न थालेका थिए।
यस ‘डेथ होक्स’ ले शक्ति कपूरका फ्यानहरू मात्र होइन। उनको परिवारलाई समेत मानसिक तनाव दिएको बताइएको छ। तर, अब स्वयं ७३ वर्षीय शक्ति कपूरले भिडियोमार्फत अगाडि आएर ती सबै दावीलाई पूर्ण रूपमा झुटो बताएका छन्।
उनले आफ्नो आधिकारिक इन्स्टाग्राममार्फत भिडियो सार्वजनिक गर्दै भनेका छन्, ‘मेरो मृत्युको खबर पूर्ण रूपमा फेक हो। म पूर्ण स्वस्थ र खुशी छु। कृपया यस्ता अफवाहमा विश्वास नगर्नुहोस्। यस्तो मजाक गर्नु बिल्कुल गलत हो।’
बैजनी रंगको गञ्जी लगाएर देखिएका शक्ति कपूर भिडियोमा केही निराश देखिए पनि उनले स्पष्ट रूपमा आफू स्वस्थ रहेको जानकारी दिएका छन्। उनले यस्ता अफवाह फैलाउने व्यक्तिविरुद्ध साइबर उजुरीसमेत दिने चेतावनी दिएका छन्।
उनले मृत्युजस्तो संवेदनशील विषयलाई लिएर मजाक गर्नु अस्वीकार्य भएको भन्दै आक्रोश व्यक्त गरेका छन्। भिडियो सार्वजनिक भएपछि उनका लाखौं प्रशंसकले राहत महसुस गरेका छन्। कमेन्ट सेक्सनमा ‘टाइगर अभी जिन्दा है’ र ‘लङ लिभ लेजेन्ड’ जस्ता प्रतिक्रियाहरूको बाढी आएको छ।
शक्ति कपुर अहिले पनि फिल्म क्षेत्रमा सक्रिय छन्। हालै उनी ‘मेरे हसबेण्डकी बीबी’ मा देखिएका थिए, जहाँ उनको अभिनयलाई दर्शकले निकै रुचाएका थिए। साथै उनी छोरी श्रद्धा कपुरसँग सामाजिक सञ्जालमा पनि बेला-बेला चर्चामा रहने गर्छन्।
