पुराना पेट्रोल–डिजेल गाडीलाई ईभी बनाउँदै सरकार
काठमाडौं। सरकारले आईस भेहिकल (डिजेल पेट्रोलबाट सञ्चालन हुने गाडी) लाई ईभी(विद्युतिय सवारी)मा कन्भर्जन गर्नका लागि कार्यविधि बनाउन सुरु गरेको छ ।
चैत २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले पेट्रोल र डिजेलबाट सञ्चालन हुने सवारीसाधनलाई ईभीमा रूपान्तरण गर्न कानुनी व्यवस्था मिलाउने निर्णय गरेसँगै यातायात व्यवस्था विभाग कार्यविधि निर्माणमा जुटेको हो ।
विभागका अनुसार पुराना सवारीसाधनलाई ईभीमा रूपान्तरण गर्ने मापदण्ड, प्राविधिक प्रक्रिया, कन्भर्जन प्लान्ट तथा वर्कशपको स्तर, लागत र सुरक्षा मापदण्डलगायत विषय समेटेर कार्यविधिको प्रारम्भिक खाका तयार गरिएको छ ।
विभागका एक अधिकारीका अनुसार यातायात व्यवस्था विभाग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र अटो व्यवसायीहरूको संयुक्त अध्ययन समितिले प्रारम्भिक ड्राफ्ट तयार गरी अहिले छलफल अघि बढाएको छ । छलफलपछि समितिबाट स्वीकृत भएपछि यसलाई पूर्ण ड्राफ्टका रूपमा अघि बढाइनेछ ।
उनका अनुसार, ‘हामीले प्रारम्भिक ड्राफ्ट तयार गरेर छलफल गरिरहेका छौँ । छलफलपछि समितिबाट पास भएपछि यो पूर्ण ड्राफ्ट हुनेछ । अहिलेको चरण केवल खाका तयार गर्ने प्रक्रिया हो ।’
प्रारम्भिक ड्राफ्ट स्वीकृत भएपछि त्यसलाई मन्त्रालयमा पेश गरिने र आवश्यक सुझावका लागि सार्वजनिक रूपमा वेबसाइटमार्फत समेत उपलब्ध गराइने विभागले जनाएको छ ।
पुराना सवारीसाधनलाई विद्युतिय सवारीमा रूपान्तरण गर्ने विषय लामो समयदेखि चर्चामा रहे पनि स्पष्ट कानुनी व्यवस्था नहुँदा अघि बढ्न सकेको थिएन । हाल सरकारको निर्णयपछि यसले औपचारिक रूप लिएको हो ।
सरकारले सन् २०३५ सम्म देशभर सञ्चालन हुने सवारीसाधनमध्ये ९५ प्रतिशत विद्युतिय बनाउने लक्ष्य लिएको छ । सो लक्ष्य पूरा गर्न कन्भर्जन प्रणालीलाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
तर, व्यवसायीहरूबीच यस विषयमा फरक धारणा देखिएको छ । केहीले कन्भर्जन लागत उच्च हुने भएकाले नयाँ ईभी खरिद गर्नु बढी उपयुक्त हुने बताइरहेका छन् भने केही व्यवसायी भने कन्भर्जन व्यवसाय विस्तारको अवसर देखेर उत्साहित भएका छन् ।
