स्मार्ट लाइसेन्स छाप्न १९५ रुपैयाँ खर्च लाग्ने
काठमाडौं । एउटा स्मार्ट ड्राइभिङ लाइसेन्स कार्ड छाप्न करिब १९५ रुपैयाँ १७ पैसा खर्च लाग्ने भएको छ । यही दरअनुसार सरकारले असार मसान्तसम्म १७ लाख स्मार्ट लाइसेन्स कार्ड छाप्न करिब ३३ करोड १८ लाख रुपैयाँ खर्च गर्ने तयारी गरेको छ ।
यातायात व्यवस्था विभाग सँग भएको सम्झौताअनुसार सुरक्षण मुद्रण केन्द्र ले स्मार्ट लाइसेन्स छपाइको दोस्रो चरण सुरु गरिसकेको जनाएको छ । यस चरणमा क्यूआर कोडसहितका आधुनिक स्मार्ट लाइसेन्स कार्ड छापिने व्यवस्था गरिएको छ ।
अधिकारीहरूका अनुसार दोस्रो चरणअन्तर्गत हालसम्म २२ हजारभन्दा बढी लाइसेन्स कार्ड छापिसकिएको छ । विभागले दैनिक सेवा, अत्यावश्यक आवेदन तथा लामो समयदेखि प्रतिक्षामा रहेका सेवाग्राहीलाई प्राथमिकतामा राखेर वितरण प्रक्रिया अघि बढाइरहेको जनाएको छ ।
विगत केही वर्षदेखि लाइसेन्स कार्ड छपाइमा ढिलाइ हुँदा सेवाग्राहीले लामो समयसम्म रसिदकै भरमा सवारी चलाउनुपर्ने अवस्था सिर्जना भएको थियो । यही समस्या समाधान गर्न सरकारले ठूलो संख्यामा स्मार्ट लाइसेन्स छपाइ प्रक्रिया तीव्र बनाएको अधिकारीहरूको भनाइ छ ।
नयाँ स्मार्ट लाइसेन्समा क्यूआर कोड, डिजिटल विवरण तथा सुरक्षाका अतिरिक्त प्रविधि प्रयोग गरिएकाले नक्कली कार्ड निर्माण रोक्न र विवरण प्रमाणीकरण गर्न सहज हुने अपेक्षा गरिएको छ ।
