`

‘धरपकडको हल्ला निराधार’ भन्दै व्यवसायीलाई नत्रसिन अर्थमन्त्री वाग्लेको आग्रह

Nepal One HD २६ वैशाख २०८३ ११:४७
अर्थ समाचार

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका उद्योगी-व्यवसायीलाई धरपकड गरिँदै छ भन्ने हल्लाको पछि नलाग्न आग्रह गरेका छन् । शुक्रबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले व्यवसायीलाई त्रसित बनाउने कुनै योजना नरहेको स्पष्ट पारेका हुन् ।

उनले निजी क्षेत्रलाई मुलुकको आर्थिक विकासको प्रमुख साझेदारको रूपमा हेर्ने सरकारको धारणा दोहोर्‍याउँदै उद्योगी-व्यवसायीलाई ढुक्क भएर लगानी र व्यवसाय विस्तार गर्न आग्रह गरे ।

अर्थमन्त्री वाग्लेले भने, ‘निजी क्षेत्रका व्यवसायीलाई थुन्ने वा धरपकड गर्ने कुनै सूची सरकारले बनाएको छैन । तपाईँहरू हल्लाको पछि नपर्नुहोस्, तपाईँहरू हाम्रो विकासको साझेदार हो ।’

उनले सरकारको दीर्घकालीन लक्ष्य १०० बिलियन डलरको अर्थतन्त्र निर्माण गर्नु रहेको उल्लेख गर्दै त्यो लक्ष्य हासिल गर्न निजी क्षेत्रको भूमिका निर्णायक हुने बताए । उनका अनुसार आर्थिक रूपान्तरणका लागि सरकार र निजी क्षेत्रबीच विश्वास, सहकार्य र स्थायित्व आवश्यक छ ।

कार्यक्रममा बोल्दै उनले सरकारले अघि सारेका पाँच प्रमुख प्राथमिकताबारे पनि जानकारी दिए । उनका अनुसार पहिलो प्राथमिकता सुशासन, दोस्रो अर्थतन्त्रको पुनरुत्थान, तेस्रो आन्तरिक तथा बाह्य कनेक्टिभिटी विस्तार, चौथो सामाजिक क्षेत्रमा लगानी र पाँचौँ पर्यटन, संस्कृति तथा इतिहासमार्फत नेपालको ‘सफ्ट पावर’ विस्तार गर्नु रहेको छ ।

उनले अहिले मुलुक अर्थतन्त्रको ‘जहाज मोड्ने’ महत्वपूर्ण मोडमा रहेको टिप्पणी गर्दै त्यसका लागि केही समय धैर्य गर्न व्यवसायीहरूलाई आग्रह गरे । आगामी बजेटमार्फत सरकारले अर्थतन्त्र सुधारका लागि महत्वपूर्ण कदम चाल्ने संकेत पनि उनले दिए ।

अर्थमन्त्री वाग्लेले भारतको आर्थिक रूपान्तरणको उदाहरण दिँदै नेपालले पनि राजनीतिक स्थायित्व, स्पष्ट नीति र इमानदार कार्यान्वयनमार्फत तीव्र आर्थिक विकास गर्न सक्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘सन् २०१४/१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सत्ता सम्हाल्दा भारतको अर्थतन्त्रका केही सूचक नेपालकै अहिलेको अवस्थासँग मिल्दाजुल्दा थिए । तर पछिल्लो १२ वर्षमा भारतले ठूलो फड्को मारेको छ । हामी पनि अब त्यही दिशातर्फ अघि बढ्नुपर्ने बेला आएको छ ।’

अर्थमन्त्रीको भनाइलाई निजी क्षेत्रले चासोका साथ हेरेको छ । पछिल्लो समय बजारमा कर छली, राजस्व अनुसन्धान तथा वित्तीय अनुशासनका विषयमा सरकार कडा बन्न लागेको चर्चा चलिरहेका बेला वाग्लेले सार्वजनिक रूपमा व्यवसायीलाई आश्वस्त पार्ने प्रयास गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *