समुन्द्रको तापक्रम बढ्दै
एजेन्सी। युरोपेली सङ्घअन्तर्गतको जलवायु निगरानी निकायले विश्वका महासागरहरूको सतही तापक्रम असाधारण रूपमा बढ्दै अत्यन्तै उच्च बिन्दुको नजिक पुगेको चेतावनी दिएको छ। वैज्ञानिकहरूको भनाइ अनुसार अहिलेको तापमान सन् २०२४ मा मापन गरिएको सबैभन्दा तातो समुद्री तापक्रमभन्दा थोरै मात्र कम छ, र छिट्टै नयाँ रेकर्ड कायम हुन सक्ने प्रबल सम्भावना देखिएको छ।
युरोपेली मध्यम-दूरी मौसम पूर्वानुमान केन्द्रकी जलवायु प्रमुख सामन्था बर्गेसका अनुसार महासागरको सतह लगातार तातिरहेको छ, जसले विश्व जलवायु प्रणालीमा ठूलो परिवर्तन हुँदै गएको सङ्केत गर्छ। उनका अनुसार मे महिनामै पनि समुद्री तापक्रमले नयाँ ऐतिहासिक रेकर्ड तोड्न सक्ने सम्भावना उच्च छ।
युरोपेली सङ्घअन्तर्गतको कोपरनिकस जलवायु परिवर्तन सेवाले अप्रिलमा विश्वभर समुद्री तापक्रम निरन्तर बढ्दै अहिले सम्म मापन गरिएको दोस्रो सबैभन्दा उच्च स्तरमा पुगेको उल्लेख गरेको छ। विशेषगरी प्रशान्त क्षेत्रदेखि उत्तर अमेरिकासम्म व्यापक समुद्री तातो लहर फैलिएको छ, जसले थुप्रै क्षेत्रमा मौसमीय असन्तुलन सिर्जना गरेको छ।
यसैबीच, विश्व मौसम सङ्गठनले मेदेखि जुलाईभित्र ‘एल निनो’ अवस्था विकसित हुन सक्ने चेतावनी दिएको छ। प्रशान्त महासागरको तापक्रम र वायुप्रवाहमा हुने प्राकृतिक उतारचढावबाट उत्पन्न हुने ‘एल निनो’ ले विश्वभर खडेरी, अत्यधिक वर्षा, आँधीबेहरी लगायत चरम मौसम घटनाहरू बढाउने गर्दछ।
वैज्ञानिकहरूका अनुसार अहिले देखिएको तापक्रम वृद्धि केवल एल निनोका कारण मात्र होइन, मानव गतिविधिबाट उत्सर्जित हरितगृह ग्यासका कारण भइरहेको दीर्घकालीन ग्लोबल वार्मिङले पनि तापक्रम अझ तीव्र गतिमा बढाइरहेको छ। यही कारण सन् २०२३ र २०२४ क्रमशः दोस्रो र सबैभन्दा तातो वर्ष भएर दर्ता भएका थिए।
कसैकसैले अनुमान गरेका छन् कि आउँदो एल निनो तीन दशकअघिको शक्तिशाली एल निनोसँग तुलना गर्न सकिने गरी बलियो हुन सक्छ। बर्कले अर्थका वैज्ञानिक जेक हाउसफादरले शक्तिशाली एल निनो विकास भए सन् २०२७ अहिलेसम्मकै सबैभन्दा तातो वर्ष बन्ने सम्भावना बढी हुने बताएका छन्।
यद्यपि सामन्था बर्गेसका अनुसार अहिले नै यसको बलियोपनको ठ्याक्कै अनुमान लगाउन कठिन छ, किनकि वसन्त ऋतुका मौसमी पूर्वानुमानहरू प्रायः अनिश्चित हुन्छन्। तर उनले भनेकी छन्, “यसको प्रभाव भने विश्वव्यापी रूपमा अवश्य महसुस हुनेछ।” उनका अनुसार एल निनोको सबभन्दा ठूलो प्रभाव प्रायः यसको शिखर वर्षपछि देखिन्छ, जसले गर्दा आगामी वर्षहरूमा पनि तापक्रम बढ्ने सम्भावना रहन्छ।
कोपरनिकसले मार्च र अप्रिलमा समुद्री तापक्रम निरन्तर बढ्दै जानुले एल निनोतर्फको संक्रमण सुरु भइसकेको सङ्केत गरेको बताएको छ। वैज्ञानिकहरूको भनाइमा अहिलेको अत्यधिक तापमान प्राकृतिक एल निनोका कारण मात्र होइन, जीवाश्म इन्धनको अत्यधिक प्रयोगले पैदा गरेको दीर्घकालीन जलवायु परिवर्तनले पनि महत्वपूर्ण भूमिका खेलेको छ।
अप्रिल महिनामा विश्वको औसत तापक्रम औद्योगिक क्रान्तिपूर्व (सन् १८५०–१९००) को स्तरभन्दा १.४३ डिग्री सेल्सियस बढी मापन भएको थियो। त्यस्तै आर्कटिक क्षेत्रको समुद्री बरफ पनि ऐतिहासिक न्यून बिन्दुको नजिक पुगेको छ, जसले पृथ्वीको जलवायु प्रणालीमा गम्भीर असर पारिरहेको छ।
