`

युक्रेनको रणनीति : युद्धमा मानव सैनिकभन्दा रोबोट बढी हुने

Nepal One HD २७ वैशाख २०८३ १२:२२
बिशेष

एजेन्सी। युक्रेनको युद्धभूमिमा मानव सैनिकभन्दा लडाकु रोबोटहरूको सङ्ख्या धेरै हुन सक्ने एक यूके–युक्रेनी हतियार निर्माता कम्पनीले बीबीसीलाई जनाएको छ।

युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले गत महिना पहिलो पटक रोबोट र ड्रोन मात्र प्रयोग गरेर रुसी सेनाबाट युक्रेनी भूभाग फिर्ता ल्याइएको बताएका थिए। त्यसपछि युद्धमा मानवरहित प्रणालीको भूमिका थप चर्चामा आएको हो।

दुवै पक्षले युद्धको सुरुदेखि नै मानवरहित हवाई तथा स्थलगत प्रणालीहरूको व्यापक प्रयोग गर्दै आएका छन्। विश्लेषकहरूका अनुसार यस युद्धले सैन्य प्रविधिको विकासलाई असाधारण रूपमा तीव्र बनाएको छ।

जेलेन्स्कीले हालैको एक भिडियोमा युक्रेनमा विकसित रोबोटिक हतियार प्रयोग गरेर ‘दुश्मनको स्थान मानवरहित प्रणाली स्थलगत रोबोट र ड्रोनबाट नियन्त्रणमा लिइएको’ बताएका थिए। युक्रेनी सेनाले भने उक्त कारबाहीको विस्तृत विवरण सार्वजनिक गरेको छैन।

यसअघि पनि युक्रेनले स्थलमा आधारित रोबोट प्रयोग गरेर रुसी सेनालाई लामो समय रोकिएको दाबी गरेको थियो। उक्त प्रविधिमा प्रयोग भएका केही हतियार यूके-युक्रेनी स्टार्टअप कम्पनी यूफोर्सले निर्माण गरेको बताइएको छ।

कम्पनीले हाल तीव्र विस्तार गर्दै ‘युनिकर्न’ कम्पनीको दर्जा प्राप्त गरेको छ जसको मूल्य १ अर्ब डलरभन्दा बढी पुगेको मानिन्छ। कम्पनीले युक्रेन युद्ध सुरु भएयता ठूलो संख्यामा सैन्य कारबाहीमा आफ्नो प्रविधि प्रयोग भएको दाबी गरेको छ।

विशेषज्ञहरूका अनुसार युद्धभूमिमा अब मानवभन्दा रोबोट धेरै हुने अवस्था नजिकिँदै जाँदा ‘रोबोटले रोबोटसँग लड्ने’ सम्भावना पनि बढ्दै गएको छ। रूसले पनि विस्फोटक पदार्थ बोकेका मानवरहित यन्त्रहरू प्रयोग गरिरहेको बताइएको छ।

अमेरिका, चीन र अन्य ठूला शक्ति राष्ट्रहरूले पनि सैन्य क्षेत्रमा कृत्रिम बुद्धिमत्ता र स्वायत्त हतियार प्रणालीको प्रयोग तीव्र बनाइरहेका छन्। अमेरिकी रक्षा मन्त्रालयले समेत सेनालाई ‘एआई फर्स्ट युद्ध शक्ति’ बनाउनुपर्ने बताएको छ।

तर मानव अधिकारवादी संस्थाहरूले यस्तो प्रविधिले जबाफदेहिताको समस्या र नैतिक जोखिम बढाउने चेतावनी दिएका छन्। उनीहरूका अनुसार जीवन मरणसम्बन्धी निर्णय पूर्ण रूपमा मेसिनमा छोड्नु खतरनाक हुन सक्छ।

हतियार निर्माता कम्पनीहरूको तर्क भने फरक छ। उनीहरूका अनुसार मानव निर्णयलाई अन्तिम नियन्त्रणमा राख्दै एआईको प्रयोगले युद्धलाई अझ सटीक र सुरक्षित बनाउन सक्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *