`

बालेनको शैलीप्रति डा.विकेको असहमति, ‘व्यक्तिभन्दा विधि माथि हुनुपर्छ’

Nepal One HD २७ वैशाख २०८३ १६:३२
बिशेष

काठमाडौं। जेनजी अभियन्ता डा. जगत विकेले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ का पछिल्ला गतिविधि र अभिव्यक्तिप्रति असहमति जनाएका छन् । यसअघि बालेनका विभिन्न निर्णयमा समर्थन जनाउँदै आएका उनले पछिल्लो समय राज्यका संस्थाबीचको शक्ति सन्तुलन कमजोर पार्ने प्रवृत्ति देखिएको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै डा. विकेले लोकतान्त्रिक शासन व्यवस्था विधिसम्मत प्रक्रिया, संवैधानिक मर्यादा र संस्थागत सन्तुलनका आधारमा सञ्चालन हुनुपर्ने बताएका छन् । उनले कार्यकारी शक्तिले सर्वोच्च अदालतजस्तो स्वतन्त्र संवैधानिक निकायलाई आफ्नो प्रभावमा चल्ने संरचनाजस्तो देखाउन खोज्नु खतरनाक संकेत भएको उल्लेख गरेका छन् ।

उनका अनुसार लोकतन्त्रको मूल आधार नै शक्ति सन्तुलन, कानुनी शासन र संस्थागत स्वायत्तता हो । कुनै पनि व्यक्ति, पद वा शक्ति कानुनभन्दा माथि नहुने सिद्धान्तलाई कमजोर बनाउने प्रयासले लोकतान्त्रिक अभ्यासलाई नै क्षति पुर्‍याउन सक्ने उनको भनाइ छ ।

डा. विकेले ‘व्यक्तिभन्दा विधि माथि हुनुपर्छ’ भन्ने लोकतान्त्रिक मान्यता अहिले चुनौतीमा परेको टिप्पणी गरेका छन् । उनले कार्यपालिकाले आफूलाई सबैभन्दा शक्तिशाली केन्द्रका रूपमा प्रस्तुत गर्न खोजेको देखिएको भन्दै यसलाई राज्य संरचनामाथिको गम्भीर हस्तक्षेपको रूपमा व्याख्या गरेका छन् ।

उनले संस्थाभन्दा व्यक्तिलाई शक्तिशाली बनाउने मानसिकतालाई राणा शासनपछिकै सबैभन्दा खतरनाक प्रवृत्तिको संज्ञा दिएका छन् । संसदीय व्यवस्थामा व्यक्ति अस्थायी हुने तर संस्था स्थायी हुने उल्लेख गर्दै उनले संस्थागत मर्यादा जोगाउनु लोकतन्त्रको दीर्घकालीन सुरक्षाका लागि आवश्यक रहेको बताएका छन् ।

डा. विकेले आलोचनालाई लोकतन्त्रको अपरिहार्य पक्षका रूपमा लिनुपर्ने धारणा पनि राखेका छन् । ‘आलोचना भनेको शत्रुता होइन, लोकतन्त्रलाई सही दिशामा राख्ने जिम्मेवार नागरिक चेतना हो,’ उनले उल्लेख गरेका छन् ।

उनले सामाजिक सञ्जालमा आलोचनामाथि हुने आक्रामक प्रतिक्रिया र अन्धसमर्थनप्रति पनि संकेत गर्दै लोकतान्त्रिक बहसलाई सभ्य र जिम्मेवार बनाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *