नयाँ सरकारको नीति तथा कार्यक्रम : खेलकुदमा केहि नयाँ छैन
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा खेलकुद क्षेत्रलाई पर्यटन र अर्थतन्त्रसँग जोड्ने लक्ष्य अघि सारेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा खेलकुदलाई राष्ट्रिय एकता, स्वास्थ्य, पर्यटन र आर्थिक विकाससँग जोड्ने उल्लेख गरिएको हो।
नीति तथा कार्यक्रममा खेलकुद क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउन विद्यालय तहदेखि नै प्रतिभा पहिचान कार्यक्रम सञ्चालन गरिने योजना समावेश गरिएको छ। यसमार्फत नयाँ प्रतिभा पहिचान गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्य राखिएको छ।
त्यस्तै, खेल क्षेत्रको व्यावसायिकीकरणलाई प्रोत्साहन गर्ने, निजी क्षेत्रको सहभागिता बढाउने तथा खेलाडीहरूको सामाजिक सुरक्षालाई सुनिश्चित गर्ने विषयलाई पनि सरकारले प्राथमिकतामा राखेको छ।
सरकारले खेलकुदलाई केवल मनोरञ्जनको माध्यम नभई रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन र आर्थिक गतिविधिसँग जोडिएको महत्वपूर्ण क्षेत्रका रूपमा विकास गर्ने नीति लिएको छ।
