सदनमा बादल गर्जिए : ‘रास्वपाको उदेश्य एकल नेतृत्वद्वारा कथित निलो क्रान्तिलाई पूर्णता दिनु हो’
काठमाडौं। नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वैचारिक आधारमा स्थापित दल नभई अस्थायी राजनीतिक गठजोड मात्र भएको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले रास्वपा आकस्मिक रूपमा उदाएको र महत्त्वाकाङ्क्षी समूहहरूको मिश्रण भएको दाबी गरे ।
उनले भने, ‘प्रतिनिधि सभा तथा सङ्घीय सरकारमा आफ्नो एकल नेतृत्व स्थापित गरिसकेपछि रास्वपा सरकारले निर्धारित अधिवेशन स्थगन गरी ८ वटा अध्यादेश जारी गर्यो। यसको राजनीतिक लक्ष्य राज्यको प्रशासन तन्त्र तथा न्यायतन्त्रमा आफ्नो एकल प्रभुत्व कायम गर्नु थियो।’
उनका अनुसार यस्तो रणनीतिक लक्ष्यका बाबजुद पनि रास्वपा आफ्नो उद्देश्यमा सफल भएको टिप्पणी गर्नु उचित नहुने तर्क गरे ।
उनले भने, ‘रास्वपाको सफलता देश र जनताको लागि दशकौँदेखि अतुलनीय योगदान, बलिदान तथा विलक्षण प्रतिभा एवं क्षमताबाट प्राप्त गरेको कदापि होइन।’
बादलले रास्वपाको उदयलाई आन्तरिक कमजोरी, प्रविधिको प्रभाव र बाह्य राजनीतिक परिस्थितिसँग जोड्दै व्याख्या गरे ।
उनले भने, ‘यो सफलता त दशकौँदेखि तत्कालीन सत्ताधारी दलहरूले गरेका कमजोरीहरूको योगफल, एआई र अल्गोरिदमको जादु र विश्व भू–राजनीतिक दृश्य र अदृश्य प्रभावहरूको कुल परिणाम थियो।’
उनले रास्वपाको दीर्घकालीन राजनीतिक लक्ष्यबारे पनि टिप्पणी गर्दै भने, ‘रास्वपाको राजनीतिक लक्ष्य आगामी स्थानीय, प्रदेश तथा राष्ट्रिय सभामा एकल नेतृत्व स्थापित गर्नु हो। यो लक्ष्य हासिल गरे पश्चात् नै रास्वपाको कथित निलो क्रान्तिले पूर्णता प्राप्त गर्न सक्दछ।’
