`

रास्वपा अराजक जमातको अस्थायी गठजोड : एमाले

Nepal One HD २९ वैशाख २०८३ १५:४५
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वैचारिक आधारमा स्थापित राजनीतिक दल नभई विभिन्न अराजक समूहहरूको अस्थायी गठजोड भएको टिप्पणी गरेका छन्।

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले रास्वपा आकस्मिक रूपमा उदाएको ‘अति महत्त्वाकाङ्क्षी समूहहरूको अस्थायी संयोजन’ भएको दाबी गरे।

उनका अनुसार रास्वपाले सरकारमा पुगेर अधिवेशन स्थगन गरी अध्यादेशमार्फत शासन चलाउने अभ्यास गरेको छ, जसको उद्देश्य राज्यको प्रशासन र न्याय प्रणालीमा एकल प्रभुत्व स्थापित गर्नु रहेको उनले आरोप लगाए।

‘अध्यादेशको माध्यमबाट राज्यका संरचनामा नियन्त्रण कायम गर्ने प्रयास गरियो र त्यसमा केही हदसम्म सफलता पनि प्राप्त भयो,’ बादलले भने।

उनले रास्वपाको उदय कुनै दीर्घकालीन वैचारिक संघर्ष वा जनआन्दोलनको परिणाम नभई विगतका सरकारका कमजोरीहरूको योगफल भएको टिप्पणी गरे। साथै, कृत्रिम बुद्धिमत्ता (एआई), अल्गोरिदम र बाह्य भू-राजनीतिक प्रभावहरूले पनि यसको उदयमा भूमिका खेलेको उनको दाबी थियो।

एमाले नेता बादलले रास्वपाको दीर्घकालीन राजनीतिक लक्ष्य स्थानीय, प्रदेश तथा संघीय तहमा एकल नेतृत्व स्थापना गर्नु रहेको आरोप लगाए। उनका अनुसार उक्त लक्ष्य पूरा भएमा मात्रै पार्टीले भनेको “निलो क्रान्ति” सफल हुने उनको विश्लेषण छ।

उनले राजनीतिक दलहरू वैचारिक स्पष्टता र संस्थागत अभ्यासमा आधारित हुनुपर्नेमा जोड दिँदै अस्थायी गठजोडहरूले लोकतान्त्रिक प्रणालीमा अस्थिरता ल्याउने चेतावनी पनि दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *