`

सरकारमा प्रधानमन्त्री छ कि छैन? : हर्क साम्पाङ

Nepal One HD २९ वैशाख २०८३ १६:०९
बिशेष

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ ले प्रधानमन्त्रीको संसद्‌मा अनुपस्थितिलाई लिएर सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री नै नभएको जस्तो अवस्था देखिएको टिप्पणी गरे।

‘यो सरकारको प्रधानमन्त्री छ कि छैन ? छ भने उहाँले सदनलाई सम्बोधन गर्नुपर्छ कि पर्दैन ?’ उनले प्रश्न गरे।

सांसद साम्पाङले जनप्रतिनिधिका प्रश्नको जवाफ नदिनु लोकतान्त्रिक अभ्यासविरुद्ध भएको भन्दै यस्तो प्रवृत्तिले सरकार जनताप्रति उत्तरदायी नभएको देखिने बताए।

‘सांसदका प्रश्नको उत्तर नदिनु भनेको जनताको प्रश्नको जवाफ नदिनु हो,’ उनले भने, ‘जवाफ दिन नसक्ने प्रधानमन्त्रीलाई असक्षम भन्नुपर्छ।’

उनले वर्तमान सरकार जनतासँग डराएर काम गरिरहेको जस्तो देखिएको आरोप पनि लगाए। जनताको जीउधनको सुरक्षा र सीमाको रक्षा गर्न नसक्ने सरकारलाई सफल भन्न नसकिने उनको टिप्पणी थियो।

साम्पाङले सीमावर्ती क्षेत्रमा भइरहेको निर्माण कार्यबारे पनि सरकारको ध्यानाकर्षण गराए। छिमेकी देशले नेपालको सहमति बिना निर्माण गरिरहेको हो वा अनुमति लिएर गरिरहेको हो भन्ने स्पष्ट हुनुपर्ने उनले बताए।

‘महाकालीको तटमा भइरहेको निर्माण नेपाल सरकारको जानकारीमा हो कि होइन ?’ उनले प्रश्न गरे।

उनले अन्त्यमा सरकारको कार्यशैली पारदर्शी, उत्तरदायी र जनमुखी हुनुपर्नेमा जोड दिएका थिए।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *