`

नीति कार्यक्रममा सरकारले आदिवासी जनजातीलाई बेवास्ता गर्यो : भूमिका लिम्बु सुब्बा

Nepal One HD ३१ वैशाख २०८३ १२:४४
नेकपा एमाले

काठमाडौं । नेकपा (एमाले) की सांसद भूमिका लिम्बु सुब्बाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आदिवासी तथा जनजाति समुदायप्रति संवेदनशील हुन नसकेको आरोप लगाएकी छन् ।

प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले नीति तथा कार्यक्रम बाहिरबाट आकर्षक देखिए पनि आदिवासी जनजातिको योगदान र पहिचानलाई पर्याप्त रूपमा सम्बोधन गर्न नसकेको बताइन् ।

उनले आदिवासी समुदायको सांस्कृतिक पहिचानलाई केवल प्रतीकात्मक रूपमा प्रयोग गरिएको टिप्पणी गरिन् । ‘हाम्रो समुदायको सिलाम साक्मा लगाएर मात्रै हुँदैन, त्यसको अपनत्व पनि लिन सक्नुपर्छ,’ उनले भनिन् । प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहले आदिवासी समुदायको सांस्कृतिक पहिचानलाई राजनीतिक ब्रान्डिङका लागि मात्रै प्रयोग गरेको आरोपसमेत उनले लगाइन् ।

सांसद सुब्बाले समान सहभागिता, सामाजिक न्याय र आदिवासी समुदायको योगदानप्रति सरकार गम्भीर नभएको बताइन् । साथै कला र संस्कृतिलाई केवल मनोरञ्जन उद्योगका रूपमा हेर्न नहुने धारणा राखिन् ।

‘कला र संस्कृति राष्ट्रिय पहिचान हो,’ उनले भनिन्, ‘दक्षिण कोरियाले कला र संस्कृतिलाई आर्थिक उद्योगका रूपमा विकास गरेको छ । आजको विश्व अर्थतन्त्रमा कला र संस्कृति ठूलो उद्योग बनेको छ, तर सरकारले यसलाई रणनीतिक रूपमा प्रस्तुत गर्न सकेन ।’

उनले कला र संस्कृतिलाई केवल आकर्षणको केन्द्रमा सीमित नराखी राष्ट्रको अर्थतन्त्रसँग जोड्नुपर्नेमा जोड दिइन् । प्रत्येक प्रदेशमा कला तथा संस्कृतिको ‘हब’ स्थापना गर्न सरकारसँग उनले मागसमेत गरिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *