`

क्युआर कोड स्क्यान गर्दै हुनुहुन्छ ? सावधान!!!

Nepal One HD १ जेठ २०८३ १७:०७
विज्ञान-प्रविधि

काठमाडौं। रेस्टुरेन्ट र क्याफेहरूमा पछिल्लो समय डिजिटल मेनुको प्रयोग तीव्र रूपमा बढेको छ । ग्राहकहरूले टेबलमा राखिएको क्युआर कोड स्क्यान गरेर मोबाइलमै मेनु हेर्ने चलन सामान्य बन्दै गएको छ ।

यद्यपि, यो प्रविधि सहज र छिटो भए पनि साइबर सुरक्षाको दृष्टिले जोखिमपूर्ण हुन सक्ने चेतावनी विज्ञहरूले दिएका छन् । हालै भारतमा एक महिलाले रेस्टुरेन्टमा क्युआर कोड स्क्यान गरेर मेनु हेरेपछि अज्ञात नम्बरबाट लगातार फोन र म्यासेज आउन थालेको घटना सार्वजनिक भएको छ ।

अनुसन्धानका क्रममा उनको मोबाइल नम्बर रेस्टुरेन्ट स्टाफसम्म पुगेको र त्यहीबाट दुरुपयोग भएको खुलेको बताइएको छ ।

यो घटना सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भएपछि क्युआर आधारित डिजिटल मेनुको सुरक्षामाथि प्रश्न उठ्न थालेको छ । साइबर विशेषज्ञहरूका अनुसार धेरै प्रयोगकर्ताले क्युआर कोड स्क्यान गर्दा नपढीकन अनुमति दिने वा असुरक्षित वेबसाइटमा व्यक्तिगत जानकारी भर्ने गर्छन् । यसरी मोबाइल नम्बर, इमेल आईडी, लोकेशन तथा अन्य डेटा गलत व्यक्तिको हातमा पुग्न सक्ने जोखिम हुन्छ ।

विशेषज्ञहरूका अनुसार धेरै रेस्टुरेन्टहरूले ‘थर्ड पार्टी’ प्लेटफर्ममार्फत डिजिटल मेनु सञ्चालन गर्छन् । क्युआर कोड स्क्यान गरेपछि प्रयोगकर्ताबाट मोबाइल नम्बर, इमेल, लोकेशन र डिभाइससम्बन्धी जानकारी माग्न सकिन्छ । यदि ती विवरण सुरक्षित रूपमा व्यवस्थापन नगरिए दुरुपयोगको सम्भावना बढ्छ ।

कतिपय अवस्थामा नक्कली क्युआर कोडसमेत टाँसिएको हुन सक्छ । त्यस्ता कोड स्क्यान गर्दा प्रयोगकर्ता फेक वेबसाइटमा पुग्ने र बैंकिङ जानकारी वा व्यक्तिगत डेटा चोरी हुने जोखिम रहने विज्ञहरूको भनाइ छ ।

क्युआर कोड स्क्यान गर्दा अपनाउनुपर्ने सावधानी

  • १. क्युआर कोड वास्तविक हो वा होइन भन्ने पहिला जाँच गर्नुहोस् । माथिबाट अर्को स्टिकर टाँसिएको वा शंकास्पद देखिए स्क्यान नगर्नुहोस् ।
  • २ . आवश्यक नभएसम्म मोबाइल नम्बर वा इमेल जस्ता व्यक्तिगत विवरण नदिनुहोस् ।
  • ३ . स्क्यान गरेपछि अनौठो वेबसाइट खुलेमा वा धेरै अनुमति मागेमा तुरुन्त बन्द गर्नुहोस् ।
  • ४ . सार्वजनिक वाइफाइ प्रयोग गरेर क्युआर कोड स्क्यान गर्दा विशेष सावधानी अपनाउनुहोस् ।
  • ५ . ‘फ्री कुपन’ वा ‘क्यासब्याक’ को लोभ देखाउने शंकास्पद क्युआर कोडबाट टाढा रहनुहोस् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *