देउवा पक्षीय कर्णाली भेला : गगन-विश्वलाई चुनौती
काठमाडौं। नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवा निकट समूहले ‘बृहत् एकता’ अभियानलाई तीव्र बनाइरहेका बेला कर्णाली प्रदेशमा शनिबार प्रदेशस्तरीय भेला आयोजना गरिएको छ । भेलालाई सम्बोधन गर्न कांग्रेस नेता तथा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का तीन दिनदेखि गृह जिल्ला सुर्खेतमै सक्रिय छन् ।
देउवा समूहको पहलमा देशका विभिन्न प्रदेशमा आयोजना भइरहेको भेलाअन्तर्गत कर्णाली प्रदेशस्तरीय कार्यक्रम सुर्खेतमा गर्न लागिएको हो । १४औँ महाधिवेशनमा देउवा समूहको बलियो प्रभाव रहेको कर्णाली प्रदेश कार्यसमितिको आयोजनामा हुने भेलाको संयोजन पूर्वमुख्यमन्त्री जीवन शाही ले गरिरहेका छन् ।
भेलामा स्थानीय तहका जनप्रतिनिधि, प्रदेशसभा सदस्य, प्रतिनिधिसभा सदस्य, कर्णालीबाट प्रतिनिधित्व गर्ने वर्तमान तथा पूर्व केन्द्रीय सदस्य, जिल्लाका पार्टी पदाधिकारी, वडा तहका प्रतिनिधि तथा भातृ एवं शुभेच्छुक संस्थाका पदाधिकारीलाई आमन्त्रण गरिएको छ ।
स्रोतका अनुसार प्रदेशसभा सदस्यहरूलाई संसदीय दलमार्फत निर्देशनात्मक पत्राचार गरिएको छ। भने प्रदेश समितिमार्फत पार्टी पदाधिकारीलाई अनिवार्य उपस्थित हुन भनिएको छ । यद्यपि, देउवा समूहले आयोजना गरेको भेलामा सहभागी हुने वा नहुने भन्ने विषयमा केही जनप्रतिनिधि र पार्टी पदाधिकारी अझै अन्योलमा देखिएका छन् ।
खड्काको गृह जिल्ला सुर्खेतमा हुने कार्यक्रमलाई शक्ति प्रदर्शनका रूपमा समेत हेरिएको छ । भेलामा व्यापक सहभागिता सुनिश्चित गर्न कार्यकर्तामाझ सर्कुलरसमेत गरिएको छ । कार्यक्रमभन्दा दुई दिनअघि नै सुर्खेत पुगेका खड्काले जिल्लाका नेता तथा कार्यकर्तासँग निरन्तर भेटघाट गरिरहेका छन् ।
कांग्रेसभित्र पछिल्लो समय देखिएको गुटगत सक्रियताबीच कर्णालीमा देउवा समूहको यो भेला विशेष चासोका साथ हेरिएको छ । यसअघि वैशाख २८ र २९ गते कांग्रेसका सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री प्रदीप पौडेल लगायतका नेताले कर्णालीमा प्रदेशस्तरीय भेला गरेका थिए ।
देउवा समूहले आयोजना गर्न लागेको यो कार्यक्रमलाई उक्त भेलाको राजनीतिक प्रतिउत्तरका रूपमा समेत व्याख्या गरिएको छ ।
