`

पाँच महिनामै ३९ नयाँ एचआईभी सङ्क्रमित थपिए

Nepal One HD २ जेठ २०८३ १३:५५
जीवनशैली/स्वास्थ्य

चितवन । चितवन जिल्लामा नियमित एआरटी औषधि सेवन गर्ने एचआईभी/एड्स सङ्क्रमितको संख्या १ हजार २६० पुगेको छ । भरतपुर अस्पताल एआरटी केन्द्रका अनुसार सन् २०२६ को पछिल्लो पाँच महिनामा मात्र ३९ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

भरतपुर अस्पतालका एआरटी केन्द्रका डा. प्रमोद पौडेलका अनुसार पहिचान लुकाउने प्रवृत्तिका कारण संक्रमण फैलिने जोखिम बढ्दै गएको छ । उनका अनुसार यसले निर्दोष व्यक्तिहरू पनि सङ्क्रमित हुने अवस्था सिर्जना गरिरहेको छ ।

जिल्लामा रहेका कुल सङ्क्रमितमध्ये ६१६ पुरुष, ५९८ महिला, २८ बालबालिका र १८ तेस्रोलिङ्गी रहेका छन् । उपचारका लागि आउने बिरामीमध्ये चितवनका ८६८, नवलपरासीका २६७, मकवानपुरका २५, तनहुँका ३३, गोरखाका ३० र तराई क्षेत्रका ३७ जना रहेको डा. पौडेलले जानकारी दिए ।

नगरपालिकागत रूपमा हेर्दा भरतपुर महानगरपालिकामा ४७७, रत्ननगरमा १०१, खैरहनीमा ६१, राप्तीमा ५९, कालिकामा ५६, इच्छाकामनामा १३ र माडीमा १२ जना सङ्क्रमित रहेका छन् ।

 डा. पौडेलले सरकारी स्वास्थ्य संस्थामा कण्डम वितरणमा कमी आउँदा समस्या बढेको बताउँदै एचआईभी नियन्त्रणका लागि जनचेतना वृद्धि र एकीकृत कार्यक्रम आवश्यक रहेको उल्लेख गरे ।

त्यस्तै एएचएफ नेपाल भरतपुर अस्पतालका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार सन् २०२६ को पाँच महिनामा मात्र ७१ जना नयाँ सङ्क्रमित औषधि सेवनका लागि दर्ता भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *