सरकारले संविधानका सीमा नाघेर काम गरिरहेको छ : भट्टराई
काठमाडौं । वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले सरकारले संविधानविपरीत निर्णयहरू गर्दै सीमा नाघेर काम गरिरहेको आरोप लगाएका छन्।
‘नागरिक स्वतन्त्रता र राष्ट्रिय सुरक्षाको चुनौती’ विषयक कार्यक्रममा बोल्दै भट्टराईले ट्रेड युनियन तथा विद्यार्थी संगठन खारेज गर्ने प्रयास संविधानको भावना विपरीत भएको बताए। ‘नियमन गर्नुपर्छ, खारेज होइन,’ उनले भने।
उनले क्यान्सर लागेको अंगको उदाहरण दिँदै समस्या समाधानका लागि सुधार र उपचार आवश्यक हुने, पूर्ण रूपमा समाप्त पार्ने प्रवृत्ति उचित नभएको धारणा राखे। ‘क्यान्सर लागेको अंगमा उपचार गर्ने हो, काट्ने होइन,’ उनले टिप्पणी गरे।
भट्टराईले भदौ २२ गते एमालेको विधान महाधिवेशन र त्यसको भोलिपल्ट भदौ २३ गते भएको जेन जी आन्दोलनको प्रसंगसमेत उठाए। उनले एमालेले विधान महाधिवेशनमार्फत सबै कुरा ठीक रहेको सन्देश दिएको भए पनि पार्टीभित्र नेतृत्वकेन्द्रित राजनीति बढेको आरोप लगाए। ‘ओलीका लागि एमालेको सम्पूर्ण शक्ति प्रयोग गरियो, त्यसैले एमाले बिग्रियो,’ उनले भने।
उनले अमेरिकी नागरिक अधिकार अभियन्ता मार्टिन लुथर किङको उदाहरण प्रस्तुत गर्दै सामाजिक न्यायका पक्षमा युवाहरूले आवाज उठाउनुपर्ने बताए। ‘सामाजिक न्यायका विरुद्ध बोलिँदा युवा संघ कहाँ थियो ?’भन्दै उनले प्रश्न गरे।
कार्यक्रममा उनले लोकतान्त्रिक संस्थाहरूको स्वतन्त्रता, सामाजिक न्याय र संविधानसम्मत शासन प्रणालीको आवश्यकता रहेकोमा जोड दिए ।
