`

सरकारले संविधान पुनःलेखन गर्न खोज्दैछ : अन्सारी

Nepal One HD २ जेठ २०८३ १४:१२
राजनीति

काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारी ले सरकारले अघि बढाएको संविधान संशोधन प्रक्रिया उचित नभएको बताएका छन्।

‘नागरिक स्वतन्त्रता र राष्ट्रिय सुरक्षाको चुनौती’ विषयक छलफल कार्यक्रममा बोल्दै अन्सारीले सरकारले संविधान संशोधनको नाममा पुनःलेखन गर्न खोजेको आरोप लगाए। उनले संविधान संशोधन आयोग गठन गर्नुको सट्टा सुझाव आयोग बनाउनुपर्ने धारणा राखे।

उनले संविधान संशोधन मात्रै सबै समस्याको समाधान नभएको उल्लेख गर्दै शहीद परिवार र द्वन्द्वपीडितहरूको अवस्था अझै दयनीय रहेको बताए। ‘शहीदको परिवारले न्याय पाएको छैन, घाइतेहरूको विचल्ली छ,’उनले भने।

अन्सारीले केही मामिलामा सरकारले संविधान मिचेको आरोपसमेत लगाए। ‘चुनाव जित्नु भनेको देश जित्नु होइन, संविधान जित्नु पनि होइन,’ भन्दै उनले लोकतान्त्रिक मूल्य र संवैधानिक मर्यादालाई सम्मान गर्न सरकारलाई आग्रह गरे।

उनका अनुसार सरकारले संविधान संशोधनका लागि ल्याएका प्रस्तावहरू पर्याप्त छलफल र सहमतिबिना अगाडि बढाइएकाले ती उपयुक्त नभएको बताए। कार्यक्रममा सहभागी वक्ताहरूले नागरिक स्वतन्त्रता, संविधानको कार्यान्वयन र राष्ट्रिय सुरक्षाबीच सन्तुलन कायम गर्नुपर्नेमा जोड दिएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *