भदौ २३ को आन्दोलन सरकार ढाल्न भएको होइन : माजिद अन्सारी
काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारी ले वर्तमान समयमा नागरिक स्वतन्त्रता र राष्ट्रिय सुरक्षा दुवै गम्भीर चुनौतीको सामना गरिरहेको बताएका छन्।
राष्ट्रिय युवा संघ नेपालद्वारा स्थापना दिवसको अवसरमा आयोजित ‘नागरिक स्वतन्त्रता र राष्ट्रिय सुरक्षाको चुनौती’ विषयक छलफल कार्यक्रममा बोल्दै उनले राज्यका गतिविधि, राजनीतिक अस्थिरता र भ्रष्टाचारका कारण जनविश्वास कमजोर बन्दै गएको टिप्पणी गरे।
कार्यक्रममा बोल्दै अन्सारीले लोकतान्त्रिक व्यवस्थामा नागरिकको स्वतन्त्रता सुरक्षित हुनुपर्ने भए पनि पछिल्लो समय अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि दबाब बढिरहेको बताए। उनले सुरक्षा र स्वतन्त्रता एकअर्काका पूरक विषय भएको उल्लेख गर्दै राज्यले दुवैलाई सन्तुलित रूपमा संरक्षण गर्नुपर्ने धारणा राखे ।
उनले भदौ २३ मा भएको आन्दोलन सरकार ढाल्ने उद्देश्यले नभएको स्पष्ट पारे। उनका अनुसार उक्त आन्दोलन भ्रष्टाचारविरुद्ध जनस्तरबाट उठेको आवाज थियो। ‘भदौ २३ को आन्दोलन सरकार ढाल्न नभई भ्रष्टाचारविरुद्धमा थियो,’ उनले भने, ‘तर आफ्नै नागरिकलाई सडकमा पछारेपछि सरकार ढलेको हो।’
अन्सारीले जनताको असन्तुष्टि दबाब र बल प्रयोगबाट समाधान नहुने उल्लेख गर्दै सरकार जनभावनाप्रति संवेदनशील हुनुपर्ने बताए।
उनले युवाहरू राजनीतिक परिवर्तन, सुशासन र पारदर्शिताका पक्षमा सक्रिय रूपमा उभिनुपर्ने आवश्यकता औंल्याए।
राष्ट्रिय युवा संघ नेपालले स्थापना दिवसका अवसरमा आयोजना गरेको उक्त कार्यक्रमले वर्तमान राजनीतिक अवस्था, नागरिक अधिकार र राष्ट्रिय सुरक्षासम्बन्धी बहसलाई थप केन्द्रमा ल्याएको सहभागीहरूले बताएका छन्।
