`

मदन-आश्रितलाई सम्झिँदै ओली : उहाँहरू आन्दोलनका दीपस्तम्भ हुन्

Nepal One HD ३ जेठ २०८३ ७:२५
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका पूर्वमहासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ३३औँ स्मृति दिवसका अवसरमा उनीहरूलाई नेपाली कम्युनिष्ट आन्दोलनका वैचारिक मार्गदर्शक र परिवर्तनका युगद्रष्टाका रूपमा स्मरण गरेका छन् ।

दुवै नेताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै अध्यक्ष ओलीले दासढुंगाको रहस्यमय घटनामा ३३ वर्षअघि गुमाइएका भण्डारी र आश्रितको अभाव समयसँगै झन् गहिरिँदै गएको उल्लेख गरेका छन् ।

‘घाउहरू पुराना भए पनि समय बित्दै जाँदा तिनको दुखाइका स्मृति झन् गाढा हुँदारहेछन्, अभावहरू झन् गहिरिँदारहेछन्,’ ओलीले भनेका छन् ।

ओलीले मदन भण्डारीलाई आफ्नो नेता, साथी र सहयोद्धाका रूपमा स्मरण गरेका छन् भने जीवराज आश्रितलाई कुशल संगठक भएको बताएका छन् ।

उनले मदन भण्डारीले नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ वैचारिक भाष्य दिने जनताको बहुदलीय जनवाद (जबज) निर्माणमा नेतृत्वदायी भूमिका खेलेको उल्लेख गरेका छन् ।

‘मदन भण्डारी हाम्रो आन्दोलनलाई नयाँ वैचारिक भाष्य दिने जनताको बहुदलीय जनवाद निर्माणका अगुवा हुनुहुन्थ्यो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यस दौरानमा उहाँको विश्वास र अभिन्न निकटतामा रहेर काम गरेको सम्झना भइरहेको छ ।’

ओलीले जनताको बहुदलीय जनवादलाई केवल राजनीतिक नाराको रूपमा नभई युगअनुकूल वैचारिक परिष्कारका रूपमा व्याख्या गरेका छन् ।

उनका अनुसार जबजले आन्दोलनलाई बलियो आवाज दिएको मात्रै होइन, परिवर्तनको सपनालाई जनताको जीवनसँग जोड्ने मार्गचित्र पनि दिएको थियो ।

उनले एमालेले त्यसै वैचारिक आधारमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई अघि बढाएको दाबी गरेका छन् । पछिल्लो दशकमा मानवीय तथा भौतिक पूर्वाधार विकासमा परिवर्तन देखिन थालेको पनि उनले उल्लेख गरेका छन् ।

ओलीले मदन–आश्रितसँगै कम्युनिष्ट आन्दोलनका अग्रज र योद्धाहरू शारीरिक रूपमा नभए पनि उनीहरूको विचार र योगदान अझै राजनीतिक यात्राको दीपस्तम्भ बनेर रहेको बताएका छन् ।

‘जनताको बहुदलीय जनवाद एक सिजनको लोकप्रियता आर्जन गर्ने औजार होइन, यथार्थको धरातलमा टेकेर उभिएको विचार हो,’ उनको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *