`

म्यानपावर एजेन्ट पक्राउ

Nepal One HD ३ जेठ २०८३ १२:०२
समाचार

काठमाडौं । ‘फ्रि भिसा, फ्रि टिकट’ नीति विपरीत वैदेशिक रोजगारीका लागि मलेसिया जान लागेका एक युवासँग तीन लाख रुपैयाँ असुल्न खोजिएको घटनामा प्रहरीले एक म्यानपावर एजेन्टलाई पक्राउ गरेको छ ।

सेक्युरिटी गार्डको कामका लागि मलेसिया जान लागेका सप्तरीका अजयकुमार यादवसँग कोटेश्वरस्थित ‘ग्रान्ड स्विट जब’ नामक म्यानपावर कम्पनीले अतिरिक्त रकम माग गरेको आरोप लागेको हो । उनीसँग यसअघि नै ७० हजार रुपैयाँ लिइसकिएको भए पनि थप २ लाख २० हजार रुपैयाँ नदिए विदेश जान नदिने दबाब दिइएको बताइएको छ ।

सरकारले लागू गरेको ‘फ्रि भिसा, फ्रि टिकट’ नीतिअनुसार म्यानपावर कम्पनीले अधिकतम १० हजार रुपैयाँ मात्र लिन पाउने व्यवस्था छ । तर सो प्रावधानविपरीत रकम माग भएपछि पीडितले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवको सचिवालयमा उजुरी गरेका थिए ।

उजुरीपछि मन्त्रीका स्वकीय उपसचिव सरोज यादव, केही सञ्चारकर्मी र प्रहरी टोलीको उपस्थितिमा तीनकुनेस्थित गैरीगाउँमा म्यानपावरका कर्मचारीसँगै भेटघाट भएको थियो । सो क्रममा कागजात फिर्ता दिनुअघि रकम माग गरिएको खुलासा भएपछि प्रहरीले सम्बन्धित कर्मचारीलाई नियन्त्रणमा लिएको हो ।

प्रहरी अनुसन्धानमा ती कर्मचारीले ‘फ्रि भिसा, फ्रि टिकट’ व्यवस्था अन्तर्गत जाने कामदारसँग तीन लाख रुपैयाँ माग गरेको स्वीकार गरेका छन् । उनलाई थप अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पठाइएको छ ।

प्रहरीले पक्राउ परेका व्यक्तिबाट चारवटा राहदानी, हवाई टिकट र अन्य कागजात बरामद गरेको जनाएको छ । ती कागजात रकम लिएपछि मात्र सम्बन्धित व्यक्तिलाई दिने तयारी गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पछि प्रहरीको सक्रियतापछि पीडित युवाको राहदानी, श्रम स्वीकृति, बिमा र हवाई टिकट फिर्ता गरिएको छ । उनी आइतबार मलेसिया उड्ने तयारीमा रहेका छन् ।

पीडित अजयकुमार यादवले आफूलाई सुरुमा कुनै अतिरिक्त शुल्क नलाग्ने भनिए पनि भिसा आएपछि तीन लाख रुपैयाँ माग गरिएको गुनासो गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *