रामकृष्ण ब्लोनको अध्यक्षतामा बन्यो तामाङ घेदुङको नयाँ कार्यसमिति
काठमाडौं । आदिवासी तामाङ जातिको सामाजिक संस्था नेपाल तामाङ घेदुङको अध्यक्षमा रामकृष्ण ब्लोन निर्वाचित भएका छन् ।
कांग्रेसनिकट उनले अध्यक्षका अन्य प्रत्याशी कुमारसिंह घिसिङ, मित्रसेन योञ्जन, अमिर लामा मोक्तान र मानबहादुर तामाङलाई पराजित गरे ।
निर्वाचित ब्लोनले ३०६ मत पाए । निकटतम प्रतिद्वन्द्वी घिसिङ भए । उनले ९८ मत पाउँदा योञ्जनले ५९, मोक्तानले ३२ र तामाङले २७ मत पाए । निकटतम प्रतिद्वन्द्वी भएका घिसिङ नेकपा समर्थित हुन् । योञ्जन कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीका नेता हुन् ।
सहअध्यक्ष सरोजमोहन लामा निर्विरोध भए । वरिष्ठ उपाध्यक्षमा नेकपा निकट सञ्चु ब्लोन निर्वाचित भइन् । उनले ३६० मत प्राप्त गर्दै हरिजंग तामाङलाई पराजित गरिन् । हरिजंगले १३२ मत पाए ।
दुई महिलासहित ७ उपाध्यक्षमा काजिमान थिङ, दिनेशकुमार लो, पासाङदोर्जे लामा, प्रेम लो तामाङ, रुपबहादुर योञ्जन, दिना लामा र बिना मम्बा तामाङ निर्वाचित भए ।
महासचिवमा लिलाकुमार घलान, उपमहासचिवमा निर्मलबहादुर तामाङ, बिलाम मुक्तान र महिला उपमहासचिव श्रमिक लामा निर्विरोध निर्वाचित भइन् ।
सचिव पदमा सुनिल मोक्तान २५१ मत, सुन्दर थोकर तामाङ १९९ मत तथा हिरालाल तामाङ १९४ मतसहित विजयी भएका छन् । सचिव (महिला) तर्फ उषा वाइबा ३२७ मत र संगीता तामाङ पाख्रिन २७८ मतसहित निर्वाचित भए ।
कोषाध्यक्ष पदमा तीर्थमान बल तथा सहकोषाध्यक्ष पदमा सीता चोदेन तामाङ निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
प्रदेशबाट निर्वाचित केन्द्रीय सदस्य
कोशीबाट अर्जुन तामाङ, इन्द्रकुमार योन्जन तामाङ, दलमान तामाङ, पेम्बा गोले तामाङ, प्रदीप लामा तामाङ, मीनबहादुर तामाङ, रामबहादुर वाइबा तथा रामप्रसाद ग्याबा तामाङ निर्वाचित भएका छन् । महिलातर्फ पेमाकुमारी लामा निर्विरोध निर्वाचित भइन् ।
मधेश प्रदेशबाट अमराज लामा, चन्द्रबहादुर मुक्तान, पूर्णबहादुर मोक्तान, राजकुमार घिसिङ तथा रामबहादुर घलान निर्वाचित भए । महिलातर्फ बिना घिसिङ र राम्रीमाया तामाङ निर्विरोध निर्वाचित भइन् ।
बागमती प्रदेशको १४ खुल्ला सदस्य पदका लागि २० जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए । कडा प्रतिस्पर्धाबीच फुर्साङ मोक्तान तामाङ, कान्छा तामाङ, गोपीराज घलान, फुर्वाग्याल्बो मोक्तान, रोजबहादुर मोक्तान, फुर्पु तेन्जेन तामाङ, चक्रबहादुर पाख्रिन, उदय लामा, रक्षेबहादुर घलान
तामाङ, विजयकुमार तामाङ, समीर लामा, सूर्य घिसिङ तामाङ तथा सूर्यबहादुर तामाङ निर्वाचित भए ।
बागमती प्रदेशकै महिलातर्फ उर्मिला स्याङ्तान तामाङ, ठुलीमाया मोक्तान, तिरुमाया तामाङ, निर्मला तामाङ, मिक्साङ लामा तथा लक्ष्मी जिम्बा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएयो ।
गण्डकी प्रदेशबाट खुल्लातर्फ जसपाल पाख्रिन, वीरसुब्बा तामाङ तथा भक्तबहादुर तामाङ निर्वाचित भए भने महिलातर्फ आशा बम्जन र जुना तामाङ निर्विरोध निर्वाचित भएकी छन् ।
निर्वाचन आयुक्त कुमार ब्लोनका अनुसार लुम्बिनी र कर्णाली प्रदेशबाट कुनै पनि पदमा उम्मेदवारी परेको थिएन ।
सुदूरपश्चिम प्रदेशबाट केशवकुमार लामा निर्विरोध निर्वाचित हुँदा प्रवास शाखा तथा आबद्ध शाखाबाट ज्ञानबहादुर तामाङ निर्वाचित भए ।
आबद्ध संस्थाको महिला खुल्लातर्फ छोइसल घलान, लक्ष्मीमाया वाइबा, शर्मिला लामा, शान्ताकुमारी तामाङ, शान्ती दोङ तामाङ, सफलता तामाङ तथा सुशीला वाइबा तामाङ निर्विरोध निर्वाचित भए ।
निर्वाचित सबैले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । घेदुङ २०१३ सालमा स्थापित तामाङ जातिको सामाजिक संस्था हो । तामाङ भाषा, लिपि, धर्म, संस्कृतिको संरक्षणसँगै उक्त समुदायको राजनीतिक अधिकार प्राप्तिको आन्दोलनमा समेत घेदुङ क्रियाशील छ ।
सन्तवीर पाख्रीन संस्थापक अध्यक्ष रहेको संस्थाको दसौँ महाधिवेशन यही जेठको १, २ र ३ गते काठमाडौंको स्वयम्भूमा भएको हो । महाधिवेशनमा पूर्णता दलीय हस्तक्षेप देखिएको थियो ।
मूलतः कांग्रेस, एमाले र नेकपाले भागबण्डा गरे अनुसार नै घेदुङको नयाँ कार्यसमिति निर्वाचित भएको हो । दलीयकरणको चङ्गुलमा फसेपछि घेदुङ तामाङ समुदायको विश्वास क्षयीकृत संस्था बन्दै गएको छ ।
ताम्सालिङ राज्य प्राप्तिको आन्दोलन कोमामा पुगेको छ । आन्दोलनमा सिंगो तामाङ समुदायलाई सूत्रबद्ध गर्न घेदुङ चुकेको छ । यस्तोमा तामाङ जेन–जीहरूले १४ बुँदे अडानपत्र सार्वजनिक गर्दै घेदुङमा दलीयकरणको अन्त्य हुनुपर्ने मुख्य माग अघि सारेका थिए ।
तर, यो मागको बेवास्ता गर्दै पूरापूर दलीय हस्तक्षेपमा घेदुङको नयाँ कार्यसमिति निर्वाचित भयो । ब्लोन नेतृत्वको नयाँ कार्यसमितिलाई समुदायको विश्वास आर्जन गर्न चुनौती हुने देखिएको छ ।
